महोत्तरी । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिलाउन विगतमा भएका सहमति र निर्णय कार्यान्वयन गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
दिवङ्गत नेता राजकिशोर मण्डलको श्रद्धाञ्जली सभामा मंगलबार बोल्दै श्रेष्ठले ऋणको नाममा चर्को ब्याज असुल्ने, ऋणभन्दा धेरै गुणा बढी रकमको तमसुक बनाउने तथा घरजग्गा हडप्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।
‘न्यायोचित ब्याजसहित ऋण तिरेपछि तमसुक र घरजग्गा फिर्ता हुनुपर्छ। ऋण तिर्ने नाममा घरबार उठिबास गराउने र किर्ते कागज बनाउने काम हुनुहुँदैन,’ उनले भने।
श्रेष्ठले आफू सरकारमा रहँदा मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन, कानुन निर्माण र सहजीकरण समिति बनाएर केही हजार पीडितलाई न्याय दिलाउने काम गरिएको दाबी गरे। तर सरकार परिवर्तनपछि उक्त अभियान रोकिएको र पीडितहरू पुनः आन्दोलनमा आउन बाध्य भएको उनको भनाइ छ।
मिटरब्याज पीडितसँग भएका सम्झौता कार्यान्वयन नभए न्यायका लागि पुनः सङ्घर्ष गर्नुपर्ने अवस्था आउन सक्ने उनले चेतावनी दिए। श्रेष्ठले मिटरब्याज समस्या दीर्घकालीन रूपमा समाधान गर्न रोजगारी र आय वृद्धि गर्नुका साथै नागरिकलाई सहज रूपमा औपचारिक वित्तीय संस्थाबाट ऋण पाउने व्यवस्था गर्नुपर्ने बताए। वैदेशिक रोजगारीमा जाने युवालाई उनीहरूको आय तथा रोजगारीका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ।




प्रतिक्रिया