गहना चोरी गर्ने पक्राउ


म्याग्दी, १० भदौ । म्याग्दीमा गहना चोरी गर्ने बारा र पर्साका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा बाराका आकाश राय, पर्साका लालबाबु राय, प्रमोद कुमार, सुनिलकुमार राय र एक नाबालकलाई अनुसन्धानका लागि पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बेनी नगरपालिका–६ अर्थुङ्गेमा भाग्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई म्याग्दी जिल्ला अदालतको अनुमतिमा अनुसन्धानका लागि तीन दिनका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेकाहरुले बेनी नगरपालिका–५ गाजनेको जगन्नाथ मन्दिरमा सोमबार लागेको धार्मिक मेलामा पूजाआजाका लागि आएकी स्थानीय भद्रकुमारी कार्कीले घाँटीमा लगाएको सुनको सिक्री चोरी गरेर भागेका थिए । उनीहरु यसअघि पनि म्याग्दीका अन्य चोरीका घटनाहरुमा संलग्न भई मुद्दा चलेको खुलेको प्रहरीले जनाएको छ ।