काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा


काठमाडौं, भदौ १४ । केहीबेर अवरुद्ध भएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ। रसुवास्थित भोटेकोशी नदीमा पानीको बहाव बढेको सूचना प्राप्त भएपछि प्रहरीले आइतबार बिहान नारायणगढबाट मुग्लिन हुँदै पोखरा तथा काठमाडौं जाने र ती क्षेत्रबाट नारायणगढतर्फ आउने सबै प्रकारका सवारीसाधनको आवागमनमा रोक लगाएको थियो।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीको बहाव हाल जोखिमपूर्ण अवस्थामा नरहेको जानकारी गराएपछि यातायात सञ्चालनमा ल्याइएको चितवन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सडकखण्डमा अहिले सवारीसाधनको आवागमन सामान्य रूपमा भइरहेको छ।