भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग


महेन्द्रनगर, १५ भदौ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले स्वर्गीय आमाको स्मृतिमा बाढीपीडितको उद्धार तथा राहतका लागि आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख ११ हजार १११ सहयोग गरेको छ ।

प्राकृतिक विपद्का बेला भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आमाको स्मृतिमा स्थापित राजुदेवी मल्ल स्मृति प्रतिष्ठानमार्फत कोषमा रकम जम्मा गरेको हो ।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मल्लले विभिन्न विपद् तथा सङ्कटका समयमा सहयोग गर्दै आएको छ । यसअघि कोभिड-१९ महामारीका बेला पनि उनको पहलमा महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन उपलब्ध गराएर नागरिकको उपचार सहज बनाउन सक्रिय भूमिका निभाएको थियो ।

साथै मल्लले कोरोनाको पहिलो कहरका बेला भारतबाट गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने नागरिकका लागि भोजनको व्यवस्थापमा गरेको थियो । पछिल्ला केही वर्षयता उनले प्रतिष्ठानमार्फत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । उनले विपद्का बेला प्रभावित नागरिकलाई राहत पुर्याउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।