अक्सिजन सिलिन्डर बोक्ने गृहमन्त्री: कामको निष्ठा कि सस्तो लोकप्रियतावाद ?


काठमाडौँ । भोटेकोशी बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका घाइतेलाई लैजाने क्रममा गृहमन्त्री सुधन गुरुङ आफैँ अक्सिजन सिलिन्डर बोकेर दौडिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा छाएको छ। एकातिर यस दृश्यले उनलाई ‘काम गर्ने मन्त्री’का रूपमा प्रस्तुत गर्न खोजेको छ भने अर्कातिर सुरक्षा निकाय, प्रशासनिक क्षेत्र र राजनीतिक वृत्तमा भने उनको पदीय मर्यादा र कार्यशैलीमाथि गम्भीर संस्थागत प्रश्न उब्जाएको छ।

गृह प्रशासनको नेतृत्व नीति निर्माण, निकायगत समन्वय र सुरक्षा संयन्त्रको मनोबल उच्च राख्ने रणनीतिक कमान्डर हो। तर, गृहमन्त्री स्वयं अक्सिजन सिलिन्डर र स्ट्रेचर बोक्न मैदानमा उत्रिएपछि राज्यका स्थापित संरचना—नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनको भूमिका र औचित्यमाथि नै अन्योल उत्पन्न भएको छ।

‘फिल्ड स्टन्ट’ कि उत्तरदायी कमान्ड ?

विपद् व्यवस्थापनमा गृहमन्त्रीको उपस्थिति र चासो अस्वाभाविक होइन। संकटका बेला घटनास्थलको अवस्था बुझ्नु, उद्धार तथा राहतको प्रभावकारिता अनुगमन गर्नु र आवश्यक नीतिगत निर्णय लिनु उनको दायित्वभित्रै पर्छ। तर, अनुगमन गर्नु र प्रत्यक्ष उद्धारकर्मीको भूमिकामा आफैँ उत्रिनु फरक कुरा हुन्।

गृहमन्त्री स्वयं उद्धारकर्ताको भूमिकामा देखिनु क्षणिक रूपमा आकर्षक वा सामाजिक सञ्जालमा ‘लाइक’ र ‘कमेन्ट’ बटुल्ने माध्यम बन्न सक्छ। तर, शासन सञ्चालनको सिद्धान्तका आधारमा हेर्दा यसले राज्य संयन्त्रप्रतिको अविश्वास प्रकट गर्छ। मन्त्री आफैँ सिलिन्डर बोकेर कुद्नुपर्ने अवस्था हो भने लाखौँको संख्यामा रहेका सुरक्षाकर्मी, दक्ष विपद् टोली र स्थानीय संयन्त्रको कमान्ड संरचना कसरी चलिरहेको छ भन्ने प्रश्न उठ्छ।

‘डिजिटल कमान्ड’को आवरण र पपुलिजम

आफ्नो कार्यशैलीमाथि उठेका आलोचनापछि गृहमन्त्री गुरुङले बचाउ गर्दै परम्परागत नेतृत्व शैलीलाई ‘गलत युगको सोच’ भनेका छन्। विपद् प्रतिकार्य कमान्ड सेन्टरमार्फत प्रत्येक चार घण्टामा अनलाइन समीक्षा भइरहेको र डिजिटल माध्यमबाट कमान्ड सञ्चालन भइरहेकाले फिल्डको वास्तविकता बुझ्न आफू पुगेको दाबी उनको छ।

तथापि, आधुनिक प्रशासनमा प्रविधिको प्रयोग र रणनीतिक कमान्डलाई उद्धार टोलीको काम आफैँ गरेर ढाकछोप गर्न मिल्दैन। फिल्डमा पुगेर कमान्ड संरचनालाई चुस्त बनाउनु र क्यामेराका अगाडि उद्धारकर्मीका रूपमा प्रस्तुत हुनु फरक विषय हुन्। यसअघि पनि सडक, पूर्वाधार र संवैधानिक निकायहरूसम्म पुगेर क्षेत्राधिकार नाघ्ने गुरुङको शैलीले प्रशासनिक सीमारेखालाई धमिल्याउने काम गरेको आरोप लाग्दै आएको छ।

संस्थाभन्दा व्यक्तिको ‘कन्टेन्ट’ हाबी

विपद्का बेला नागरिकलाई मन्त्रीले अक्सिजन सिलिन्डर बोकेको दृश्य होइन, मन्त्री नपुगे पनि उद्धार हुने र मन्त्रीले क्यामेराअगाडि निर्देशन नदिए पनि राज्यका निकाय स्वतः परिचालित हुने भरपर्दो प्रणाली चाहिएको छ। गृहमन्त्रीको मूल चासो उद्धार टोलीलाई आवश्यक स्रोतसाधनको उपलब्धता, तीनवटै सुरक्षा निकायबिचको प्रभावकारी समन्वय र स्वास्थ्य संयन्त्रको तत्परता सुनिश्चित गर्नुमा हुनुपर्छ।

तर, गुरुङको कार्यशैलीमा संस्थागत जवाफदेहिताभन्दा ‘म आफैँ मैदानमा छु’ भन्ने देखाउने मोह बढी हाबी देखिन्छ। सस्तो लोकप्रियतावाद (पपुलिजम) को मुख्य खतरा यही हो- जहाँ राज्यका बलिया संस्थाहरू छायामा पर्छन् र व्यक्तिको ‘स्टन्ट’ ले प्राथमिकता पाउँछ।

गृह मन्त्रालय कुनै ‘कन्टेन्ट स्टुडियो’ वा ‘रियलिटी शो’ होइन। लोकतान्त्रिक प्रणाली व्यक्तिले गर्ने क्षणिक प्रचारबाट होइन, विधि, प्रक्रिया, अधिकार र संस्थागत संरचनाबाट सञ्चालन हुन्छ। गृहमन्त्रीको काँधमा अक्सिजन सिलिन्डरभन्दा पनि राज्यका प्रणालीलाई चुस्त र उत्तरदायी बनाउने ठूलो जिम्मेवारी छ। त्यो जिम्मेवारीलाई व्यवस्थित रूपमा वहन गर्न सके मात्रै गृह प्रशासन सुदृढ र सफल बन्न सक्छ।