चिलिमे जलविद्युत्‌ आयाेजना : २५० मिटर सुरुङमध्ये १०० मिटर सफा गरियो


काठमाडौं । गत १० भदौमा गएको बाढीपछि चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाहरूको उद्धारका लागि प्रयास जारी छ ।

भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद हुँदा उद्धारका लागि आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउन कठिनाइ भइरहेको बताइएको छ ।

हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै प्रवेश गरी म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका छन् । २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ ।

तर, म्यानुअल रूपमा मात्रै उद्धार कार्य अघि बढाउन कठिन हुने भएकाले ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्‍याउने तयारी भइरहेको छ । एक्स्काभेटर लैजान स्याफ्रुबेँसीदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्नुपर्ने भएकाले शनिबारदेखि पहुँच सडक निर्माणको काम अघि बढाइएको छ ।

त्यसैगरी सुरुङकै बाटोबाट एक्स्काभेटर लैजान सकिने विकल्पमा समेत काम भइरहेको छ । त्यसका लागि सुरुङभित्र रहेको करिब १०० मिटर भागको माटो तथा भग्नावशेष हटाउने कार्य जारी छ ।

घटनास्थलमा ठूला हेलिकोप्टर अवतरण गर्न सम्भव नभएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण पुर्‍याउने प्रयास पनि भइरहेको छ ।