गोरखाको नाम्रुङ खोलामा बाढी, चार घर र पुल बगायो


काठमाडौं, भदौ २१ । गोरखाको उत्तरी चुमनुब्री गाउँपालिका-४ स्थित नाम्रुङ खोलामा आएको भीषण बाढीले चारवटा घर र पुल बगाएको छ। गएराति ३ बजेतिर लेदोसहित आएको बाढीले नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठका अनुसार बाढी आउनुपूर्व नै स्थानीयवासी सुरक्षित स्थानतर्फ भाग्न सफल भएका छन् ।

बाढीले सोही गाउँपालिकाको वडा नम्बर(४ र वडा नम्बर(२ जोड्ने मुख्य फलामको पुलसमेत बगाएको छ । आज आइतबार बिहानदेखि भने बाढीको बहाव बिस्तारै घट्दै गएको र अहिले खोला सामान्य अवस्थामा फर्किएको छ।