सरकारी गाडीसहित क्यासिनोबाट पक्राउ परे गाउँपालिका अध्यक्ष


काठमाडौं, भदौ २१ । वीरगंजको गण्डकमा रहेको एक रिसोर्टमा संचालित क्यासिनोबाट पर्साका गाउँपालिका अध्यक्षसहित ७ जनालाई पर्सा प्रहरीले शनिबार राति पक्राउ गरेको छ।

क्लार्क रिसोर्टमा संचालित गोल्डेन फिगर क्यासिनोबाट सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्ष जसवन्त यादवसहित ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए । यादव गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको सरकारी स्कोर्पियो चढेर क्यासिनो पुगेका थिए ।

नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न प्रतिबन्ध रहेको अवस्थामा गाउँपालिका अध्यक्ष सरकारी सवारी साधनसहित क्यासिनोमा कसरी प्रवेश पाए भन्नेबारे अनुसन्धान गरिरहेको छ । यादवसहित पक्राउ परेकाहरूको विवरण अदालतबाट म्याद थप सार्वजनिक गरिने जानकारी पर्सा प्रहरीले जनाएको छ ।