उद्धारमा खटिएका सागर ढकाल र श्रीराम न्यौपानेलाई फिर्ता बोलाउने निर्णय भएको छैन : गणेश पराजुली


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलका उपनेता गणेश पराजुलीले विपद् प्रभावित क्षेत्रमा उद्धार कार्यमा खटिएका आफ्ना सांसद वा अन्य व्यक्तिलाई फिर्ता बोलाउने कुनै औपचारिक निर्णय नभएको बताएका छन् ।

पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको केन्द्रीय समिति, सचिवालय वा कुनै पनि तहबाट विपद् प्रभावित क्षेत्रमा खटिएका व्यक्तिलाई लक्षित गरी फिर्ता बोलाउने औपचारिक निर्णय वा निर्देशन नभएको बताएका हुन्।

उनले सञ्चारकर्मीसँगको संवादका क्रममा सांसद सागर ढकाल र श्रीराम न्यौपाने उद्धार कार्यमा खटिएको विषयमा आफूले व्यक्त गरेको भनाइलाई फरक सन्दर्भमा बुझिँदा भ्रम सिर्जना भएको बताए।

पराजुलीका अनुसार आफ्नो आशय फिल्डमा पार्टीका प्रतिनिधि वा अन्य व्यक्तिको उपस्थितिले राज्यका सुरक्षा निकाय तथा उद्धार संयन्त्रको काममा कुनै व्यवधान नहोस् भन्ने मात्र रहेको थियो। आवश्यक स्थानमा सम्बन्धित व्यक्तिको सीप, दक्षता र विशेषज्ञताको अधिकतम उपयोग हुनुपर्ने उनको भनाइ छ।

‘विपद्को यस संवेदनशील घडीमा पार्टीका साधारण सदस्यदेखि नेतृत्व तहसम्म सबैको भूमिका राज्यका खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, व्यवस्थित र सहयोगी बनाउने हुनुपर्छ,’ उनले भनेका छन्।

विपद् प्रभावित क्षेत्रमा विभिन्न सीप, दक्षता र विशेषज्ञतासहित खटिएका पार्टीका सदस्यहरूको योगदानले खोज तथा उद्धार कार्यमा सहयोग पुगेको भन्दै उनले त्यसको सम्मान गर्ने बताएका छन्।