काठमाडौं भित्रिए ८७ हजार ग्यास सिलिन्डर


काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यकामा ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था गरेको छ।

नेपाल आयल निगमले काठमाडौं, धादिङ तथा काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगका सिलिन्डरहरू अन्य व्यवस्था नभएसम्म बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धादिङ तथा महोत्तरीमा रहेका उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाइएको जनाएको छ।

भदौ १८ गते २४ हजार ४९४ सिलिन्डर, भदौ १९ गते ३४ हजार १३४ सिलिन्डर र भदौ २० गते २९ हजार २४९ सिलिन्डर गरी तीन दिनको अवधिमा कुल ८७ हजार ८७७ सिलिन्डर रिफिल गरेर काठमाडौँ भित्र्याइएको छ ।

श्री ग्यास, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा, श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट, सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सिताश्री र नमस्ते ब्रान्डका ग्यास आपूर्ति गरिएको छ ।

पृथ्वीराजमार्गको कृष्णभिर खण्डको बाटो मर्मत भई नियमित सञ्चालनमा नआउञ्जेलसम्म यसरी नै वैकल्पिक प्रक्रियाबाट एलपी ग्यासको आपूर्ति र बिक्री वितरणलाई निरन्तरता दिइने निगमले जनाएको छ ।