चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ६ जना फसेको आशङ्का, उद्धार प्रयास जारी


काठमाडौँ । रसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको आशङ्का गरिएको छ। भोटेकोशी नदीमा आएको हिमबाढीका कारण आयोजनामा क्षति पुगेपछि नियन्त्रण कक्ष (कन्ट्रोल रुम) मा रहेका कर्मचारीहरू फसेको अनुमान गरिएको हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कन्ट्रोल रुमभित्र ६ जना फसेको आशङ्का गरिएको र यसबारे यथार्थ विवरण सङ्कलन गर्ने काम भइरहेको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण हिमबाढीले चिलिमे जलविद्युत् आयोजनामा पूर्णरूपमा क्षति पुर्याएको थियो। आयोजनामा क्षति पुगेसँगै सम्पर्कविहीन भएकाहरूको खोजी र सुरुङभित्र फसेकाहरूको उद्धारका लागि प्रयास भइरहेको छ।