कांग्रेस १५औँ महाधिवेशन : क्रियाशील सदस्यता अद्यावधिक नभएकाले पनि भाग लिन पाउने


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा क्रियाशील सदस्यता नवीकरण गरेका तर अद्यावधिक हुन बाँकी रहेका सदस्यहरूलाई पनि सहभागी गराइने भएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, पार्टीको अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका र निधन भएका बाहेक नवीकरण गरेका तर प्राविधिक कारणले अद्यावधिक हुन नसकेका सबै क्रियाशील सदस्यहरूले १५औँ महाधिवेशनको प्रक्रियामा भाग लिन पाउनेछन् ।

यो निर्णयले पार्टीभित्रका धेरै सदस्यहरूलाई महाधिवेशनको प्रक्रियामा समेट्ने विश्वास गरिएको छ ।भोटेकोशी बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रको जनजीवन निकै प्रभावित भएको भन्दै बैठकले आगामी भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशनको मितिमा पुनर्विचार गर्न अनुरोध गरेको छ ।

विपद्को यो घडीमा पार्टीका नेता तथा कार्यकर्ताहरू उद्धार र राहतमा खटिनुपर्ने भएकाले अधिवेशनको मिति सार्न उपयुक्त हुने निष्कर्ष बैठकले निकालेको हो ।

आजको बैठक मुख्य रूपमा भोटेकोशी बाढी र यसले निम्त्याएको क्षतिमा केन्द्रित भएको थियो । कांग्रेसले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणका कार्यमा आफ्ना सबै पार्टी संरचना, भ्रातृ तथा शुभेच्छुक सङ्गठनहरूलाई थप सक्रियताका साथ परिचालन गर्ने निर्णय गरेको छ ।

साथै, सरकारलाई विपद् व्यवस्थापनका लागि आवश्यक सुझाव र सल्लाह दिने र पार्टीको तर्फबाट पीडितहरूलाई सहयोग गर्ने कार्य जारी राख्ने प्रवक्ता चालिसेले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट उठाउनुपर्ने महत्त्वपूर्ण विषयवस्तुहरूका बारेमा समेत सुझाव दिने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति र राष्ट्रिय हितका एजेण्डाहरूका बारेमा पार्टीले सरकारलाई मार्गनिर्देशन गर्ने बताइएको छ ।

आजको बैठकमा छलफल बाँकी रहेकाले केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक भोलि बिहीबार दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित भएको चालिसे जानकारी दिए।