भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारलाई प्राथमिकतामा राख्ने कांग्रेसको निर्णय


काठमाडौं । नेपाली कांग्रेसले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था, मेडिकल टिम, उद्धार टोली र दक्ष जनशक्ति परिचालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

बैठक मुलुकले सामना गरिरहेको विपद् र प्रभावित नागरिकको उद्धार तथा राहतको अवस्थाबारे केन्द्रित रहेको उनले बताए । बैठकमा पार्टीका नेताहरूले रसुवा, धादिङलगायत बाढी प्रभावित क्षेत्रमा भएको उद्धार तथा राहतको अवस्था, उपलब्धि र कमजोरीबारे फिल्ड रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रवक्ता चालिसेका अनुसार विपद् व्यवस्थापन समितिका संयोजक तथा रसुवाका प्रतिनिधिसहित बहादुरसिंह लामा र अर्जुननरसिंह केसीलगायत नेताहरूले प्रभावित क्षेत्रको अवस्था तथा नागरिकले भोगिरहेका समस्याबारे बैठकलाई जानकारी गराएका थिए ।

‘विशेष गरेर आजको बैठकमा देशले जुन राष्ट्रिय विपत्तिको सामना गर्नुपरिरहेको छ, रसुवा बाढी । यही विषयमा बढी केन्द्रित भयो । हामीले विपद्पछिको उद्धार र राहतको विषयमा फोकस गर्नुपर्छ भन्ने विषयमा छलफल भयो,’ चालिसेले भने ।

बैठकले पार्टीसँग आबद्ध दक्ष जनशक्ति तथा विज्ञको टोली प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको उनले बताए ।

‘सोहीअनुसार पार्टीका भ्रातृ संस्था, विज्ञसहितको टोलीलाई प्रभावित क्षेत्रमा पठाउने कुरा भयो,’ उनले भने ।

कांग्रेसले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिमयुक्त बस्ती, सुरक्षित बसोबासको व्यवस्थापन तथा नीतिगत सुधारका विषय समेटेर प्रतिवेदन तयार गर्ने भएको छ । उक्त प्रतिवेदनका आधारमा संघ, प्रदेश र स्थानीय सरकारलाई आवश्यक सुझाव दिने प्रवक्ता चालिसेले बताए ।