काठमाडौँ । काठमाडौंलाई रसुवाको धुन्चेसँग जोड्ने वैकल्पिक सडक तत्काल कालोपत्रे गर्न माग गर्दै वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई ज्ञापनपत्र बुझाएका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा पुगेर आज(सोमबार, भदौ २२ ) मन्त्री लम्साललाई भेटेर धमलासहितको अभियानका समूहले काठमाडौं–टोखा–छहरे–गड्खार पुल–लच्याङ–सरमथली–पाटीखर्क–कालिकास्थान हुँदै धुन्चेसम्म पुग्ने सडक तत्काल स्तरोन्नति गरी कालोपत्रे गर्न माग गरेका हुन्।
धमलाका अनुसार उक्त सडक करिब २५ वर्षदेखि कालोपत्रेको पर्खाइमा रहेको छ । त्यस क्षेत्रमा धेरै नेता मन्त्री भए पनि हालसम्म बन्न नसकेको उनले बताए । यही १० भदौमा भोटेकोशी नदीमा आएको बाढीले पासाङ ल्हामु राजमार्गमा क्षति पुर्याएपछि यही सडकलाई वैकल्पिक मार्गका रूपमा सरकारले सञ्चालनमा ल्याएको छ । तर, सडकको अवस्था खराव भएको कारण आवतजावतमा समस्या भएको छ ।
केही दिनअघि बाढीपीडितका लागि राहत सामग्री लिएर रसुवा पुगेका धमला स्वयं लप्च्याङ क्षेत्रको सडकमा फसेका थिए। सडक हिलाम्मे भएका कारण गाडी अघि बढ्न नसकेपछि गाडीबाट ओर्लिएर धमला आँफैले धकेल्दै र तान्दै अघि बढेका थिए । सो क्रममा स्थानीयले सडक धेरै वर्षदेखि अलपत्र परेको भन्दै धमलासँग गुनासो गरेका थिए । त्यसपछि उनले कांग्रेस सभापति गगन थापाकै अगाडि उक्त सडक कालोपत्रे गर्न सरकारसँग पहल गर्ने प्रतिवद्धता जानएका थिए । सोही प्रतिवद्धताअनुसार उनले सोमबार भौतिकमन्त्रीलाई ध्यानाकर्षण गराउँदै तत्काल कालोपत्रे गर्न ज्ञापनपत्र बुझाएका हुन् ।
धमलाका अनुसार करिब तीन घण्टामा पार गर्न सकिने उक्त दूरी सडकको खराब अवस्थाका कारण १२ देखि १८ घण्टासम्म लाग्ने गरेको छ। ठूला सवारीसाधन जान नसक्ने भएपछि राहत सामग्री लिएर सानो गाडी लिएर जाँदासमेत बाटोमा सास्ती भोग्नुपरेको छ ।
ज्ञापनपत्र बुझाएपछि मन्त्रालयबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै धमलाले मन्त्री लम्सालले सडकलाई प्राथमिकतामा राखेर तत्काल कालोपत्रे प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको धमलाले जानकारी दिए।
धमलाका अनुसार मन्त्री लम्सालले आफूले बुझाएको ज्ञापनपत्रमा तत्काल तोक लगाउँदै मन्त्रालयका सचिवलाई कालोपत्रेका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। साथै, सडक विभागका महानिर्देशक (डिजी)लाई समेत तत्काल फोन गरी काम अघि बढाउन निर्देशन दिएको धमलाले बताए।
मन्त्री लम्सालले उक्त सडकलाई प्राथमिकतामा राखेर आवश्यक बजेट व्यवस्थापन तथा विनियोजनका लागि प्रक्रिया अघि बढाउने जानकारीसमेत दिएको धमलाले बताए।
धमलाले विपद्का बेला मात्र वैकल्पिक सडकका रूपमा प्रयोग गर्ने नभई काठमाडौं र रसुवाबीचको महत्वपूर्ण सडक सञ्जालका रूपमा विकास गर्नुपर्ने बताए।




प्रतिक्रिया