चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन


बागलुङ २४ भदौ । निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको जैमिनी नगरपालिका प्रशासकीय भवन निर्माण पहिल्यै सकिन्थ्यो । चार पटक म्याद थप गर्दासमेत नगरपालिकाको भवन कहिले पूरा हुने हो कुनै टुङ्गो छैन । तीन वर्षमा सक्नुपर्ने भवन पाँच वर्ष बित्दा पनि पूरा नहुने अवस्थामा पुगेपछि जनप्रतिनिधि आफैँ असन्तुष्ट भएका छन् ।

ढिलासुस्तीका कारण नगरपालिका भाडाको घरमा बस्दै आएको छ । जैमिनी नगरपालिका–१ कुश्मीसेरामा निर्माणाधीन नगरपालिकाको प्रशासकीय भवन निर्माणमा चरम ढिलाइ भएको छ । नगरपालिकाले बाध्य भएर निर्माण व्यवसायीको म्याद थप्दै आएको छ ।

निर्माण कम्पनी रविना–प्राकृतिक–जुगल जेभीले तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकेपछि भवन निर्माणको म्याद चौथोपटक थपिएको छ । तेस्रोपटक थपिएको म्याद सकिएपछि नगरपालिकाले थप चार महिनाको समय दिएको हो ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार गत असार १५ गते तेस्रोपटक थपिएको म्याद सकिएपछि कार्यपालिकाको बैठकले २०८३ कात्तिक १५ गतेसम्म भवन निर्माण सम्पन्न गर्ने गरी चौथोपटक म्याद थप गरेको बताए।

“हामीले ताकेता गर्दा पनि भवन सकिने अवस्थामा छैन । यही अवस्थामा चौथोपटक थप गरिएको समयमा पनि पूरा हुने अवस्था छैन । ठूलो भवनमा चार÷पाँच जनाले काम गर्दा परिणाम आउँदैन,” शर्माले भने ।

नगरपालिकाले वार्षिक रुपमा रु २० लाख रकम भाडामा खर्च गर्दै आएको छ । विसं २०७८ फागुन २० गते तत्कालीन संस्थापक नगरप्रमुख इन्द्रराज पौडेलले शिलान्यास गरेको भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ पुस १६ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

भवनको हाल भौतिक प्रगति ७२ प्रतिशत बराबर पुगेको छ । भवनको मुख्य संरचना निर्माण सम्पन्न भए पनि पर्खाल, झ्याल–ढोका, लिफ्ट, विद्युत्, खानेपानी, रङरोगन तथा पर्खाल तथा सजावटका काम बाँकी छ ।

भवन निर्माणका लागि निर्माण कम्पनीसँग रु आठ करोड १७ लाख ६५ हजारमा सम्झौता भएको थियो । स्थानीयले निःशुल्क उपलब्ध गराएको आठ रोपनी जग्गामा निर्माण भइरहेको भवन चारतले र ४२ कोठाको हुनेछ ।