काठमाडौं, भदौ २४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८२ साल भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानमार्फत स्थापित गर्नुपर्ने बताएकी छन्।
घटनाको एक वर्ष पूरा भएको अवसरमा बुधबार सन्देश जारी गर्दै भण्डारीले ती घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन्। उनले घाइते तथा उपचाररत सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी छन्।
भण्डारीले एक वर्षको अवधिमा देशको राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै घटनाबाट उत्पन्न राजनीतिक असन्तुष्टि र नयाँ पुस्ताको आकाङ्क्षाले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताएकी छन्। निर्वाचनमार्फत जनताले आफ्नो अभिमतसमेत व्यक्त गरिसकेको भन्दै उनले परिवर्तनलाई लोकतान्त्रिक प्रक्रियाबाट संस्थागत गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र समृद्धिको दिशामा अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको बताएकी छन्।
तर, घटनाको एक वर्ष बितिसक्दा पनि भदौ २३ र २४ का कतिपय गम्भीर प्रश्न अनुत्तरित रहेको उनको भनाइ छ। उनले दुवै दिनका घटनालाई एउटै प्रकृतिका रूपमा हेर्न नहुने बताउँदै भदौ २३ गते भएको मानवीय क्षति र त्यसपछिको भदौ २४ गते देखिएको हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिको विनाशको प्रकृति र परिस्थिति फरक रहेको उल्लेख गरेकी छन्।
आन्दोलनका जायज माग र मूल भावनाभन्दा भिन्न गतिविधि देखिएको तथा बाह्य घुसपैठ वा अवाञ्छित तत्वको संलग्नताको प्रश्नसमेत उठेको भन्दै भण्डारीले यसको सत्यतथ्य निष्पक्ष अनुसन्धानबाट स्पष्ट हुनुपर्नेमा जोड दिएकी छन्।
राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी सरकारलाई विभिन्न सिफारिस गरिसकेको उल्लेख गर्दै उनले सरकारद्वारा गठित छानबिन आयोगको प्रतिवेदन भने औपचारिक रूपमा सार्वजनिक नभएको बताएकी छन्। सञ्चारमाध्यममार्फत केही विवरण बाहिर आएपनि घटनाको समग्र प्रकृति, हिंसा, विध्वंस र संलग्न पक्षहरूको भूमिकासम्बन्धी प्रश्न पूर्ण रूपमा निरूपण हुन नसकेको उनको भनाइ छ।
भण्डारीले कुनै पूर्वाग्रह वा राजनीतिक आग्रह नराखी दुवै दिनका घटनाको सत्य, तथ्य र जिम्मेवारी निष्पक्ष, स्वतन्त्र र विश्वसनीय ढङ्गले स्थापित गर्नुपर्ने बताएकी छन्।
उनले न्यायलाई राजनीतिक प्रतिशोधका आधारमा कसैलाई दोषी ठहर गर्ने विषयका रूपमा लिन नहुने स्पष्ट पार्दै प्रमाण र कानुनका आधारमा दोषीलाई जवाफदेही बनाउनु तथा निर्दोषमाथि अन्याय हुन नदिनु नै न्यायको मूल मर्म भएको बताएकी छन्। राज्यका निकाय हुन् वा आन्दोलनमा सहभागी नागरिक, कानुन सबैका लागि समान हुनुपर्नेमा उनले जोड दिएकी छन्।
नयाँ पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिताका मागलाई सकारात्मक रूपमा लिँदै लोकतान्त्रिक विधिबाट समाधान खोज्नुपर्ने आफ्नो अघिल्लो धारणा दोहो¥याउँदै भण्डारीले नागरिकका आवाज र असहमतिलाई सम्मान गर्दै लोकतन्त्रलाई अझ सुदृढ बनाउनुपर्ने बताएकी छन्।
उनले लोकतन्त्रमा अधिकारसँगै जिम्मेवारी पनि जोडिएको उल्लेख गर्दै नागरिकको जीवनभन्दा ठूलो कुनै राजनीतिक माग हुन नसक्ने र राष्ट्रको सार्वजनिक सम्पत्तिभन्दा ठूलो कुनै आन्दोलन हुन नसक्ने बताएकी छन्।
भण्डारीले भदौ २३ र २४ का पीडालाई राजनीतिक विभाजन र प्रतिशोधको आधार नभई राष्ट्रिय आत्मसमीक्षा र सुधारको अवसर बनाउन आग्रह गरेकी छन्। नयाँ पुस्ताको ऊर्जा, ज्ञान र सिर्जनशीलतालाई समृद्ध नेपाल निर्माणको अभियानमा जोड्नुपर्ने भन्दै उनले सशक्त प्रश्नलाई संवादमा बदल्न, असहमतिलाई लोकतान्त्रिक विधिबाट सम्बोधन गर्न र विभाजनलाई राष्ट्रिय एकताले जित्न आह्वान गरेकी छन्।




प्रतिक्रिया