कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त


काठमाडौं, भदौ २५ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शिक्षाध्यक्षसहितका चार पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा डा धर्मदत्त सुवेदी, रजिष्ट्रारमा उपप्रध्यापक प्रकाशचन्द्र खत्री, डिनमा सहप्राडा सन्दीप श्रेष्ठ र निर्देशकमा सहप्राडा विनम्र विष्टलाई नियुक्त गरिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिष्ठानका उपकुलपति प्राडा सूर्यमान मेन्याङ्वो संयोकजत्वको तीन सदस्यीय सिफारिस समितिको सिफारिसमा बुधबार उनीहरूलाई नियुक्त गरेकी हुन् ।

उपकुलपति प्राडा मेन्याङ्वोले योग्यता प्रणाली अनुसार शिक्षाध्यक्ष, रजिष्ट्रार, डिन र निर्देशक नियक्त गरिएको जानकारी दिए। पदाधिकारी नियुक्त भएसँगै प्रतिष्ठानले पूर्णता पाएको छ ।

उनका अनुसार शिक्षाध्यक्षमा पाँच, रजिष्ट्रारमा १५, डिनका लागि आठ जनाले आवेदन दिएका थिए भने निर्देशकमा एक जनाको मात्र आवेदन परेको थियो ।