काठमाडौ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज अन्तर्गत आज दर खाइँदै छ।
भाद्र शुक्ल द्वितीयाका दिन दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको हो। तीजमा विशेषगरी माइती तथा दाजुभाइले छोरीचेली र दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा छ।
भोलिपल्ट भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बस्ने भएकाले त्यसको पूर्वतयारीस्वरूप अघिल्लो रात आडिलो तथा मीठा परिकार खाने चलन रहेको छ। दरमा विशेषगरी दूधबाट बनेका परिकार, गहुँको रोटी र घिउ खाने परम्परा छ। शास्त्रीय मान्यताअनुसार दर दुई भाग रात छँदै खाइसक्नुपर्ने विधान रहेको छ।
तीज महिलाहरूले वर्षभरिका दुःख, पीर र मर्कालाई गीत तथा नृत्यका माध्यमबाट व्यक्त गर्ने पर्वका रूपमा पनि मनाउँदै आएका छन्। जन्मघरबाट कर्मघर जाँदा भोगेका अनुभव र वेदनालाई माइतीमा आएर दिदीबहिनीसँग साटासाट गर्ने अवसरका रूपमा समेत तीजलाई लिइन्छ।
पछिल्ला वर्षमा तीज नेपालमा मात्र सीमित नरही भारतका विभिन्न क्षेत्रमा समेत मनाउन थालिएको छ। सञ्चारमाध्यमको प्रचारप्रसारसँगै यसको प्रभाव अन्य क्षेत्रमा पनि विस्तार भएको देखिन्छ।
दर खाएपछि सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत बसिन्छ भने चौथीका दिन गणेश पूजा गरिन्छ। गणेश चौथी र सोही दिन मध्याह्नकालमा स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजाआजा गरेर ऋषि पञ्चमी पर्व मनाइने छ।
पौराणिक मान्यताअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पतिका रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि उनका साथीहरूले पार्वतीलाई हरण गरी कसैले नदेख्ने ठाउँमा पुर्याएको र त्यहीँ उनले भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसेर महादेवलाई पतिका रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ।
साथीहरूले हरण गरेर लुकाएको मान्यताका आधारमा यस व्रतलाई ‘हरितालिका’ भनिएको धर्मशास्त्रीय मान्यता छ। तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा बर्तालु महिलाको ठूलो भीड लाग्ने गर्छ।
तीजसँगै नेपाली समाजमा चाडपर्वको उल्लासमय वातावरण सुरु हुन्छ र त्यसपछि बडादसैँ तथा तिहारजस्ता प्रमुख पर्व आउने गर्छन्।




प्रतिक्रिया