चिलिमे हाइड्रोपावरमा उद्धार प्रयास तीव्र: आज साँझसम्म शुभ समाचार आउने आशा


काठमाडौ । सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले उद्धार प्रयास जारी रहेको चिलिमे हाइड्रोपावरबाट आज साँझसम्म शुभ समाचार आउन सक्ने आशा व्यक्त गरेका छन्।

सुरुङ हुँदै विद्युत् गृहसम्म भइरहेको खोजी तथा उद्धारका क्रममा करिब ८० मिटरको दूरीभित्र ठूला ढुंगा र लेदोले बाटो बन्द गरेको पाइएको उनले बताएका छन्। ढुंगा र लेदोका कारण बाटो अवरुद्ध भएकाले भित्रतर्फ खाली स्थान हुनसक्ने अनुमान गर्न सकिने उनको भनाइ छ।

न्यौपानेका अनुसार अहिले ठूला ढुंगा र लेदो हटाउने काम तीव्र रूपमा भइरहेको छ। उनले भनेका छन्, “करिब ८० मिटरको दूरीभित्र ठूला–ठूला ढुंगासमेत रहेको पाइएको छ। हाल ती ठूला ढुंगा र लेदो धमाधम बाहिर निकाल्ने काम भइरहेको छ।”

उद्धार तथा सफाइको काम सहज रूपमा अघि बढे आज साँझसम्म सकारात्मक खबर प्राप्त हुनसक्ने उनले बताएका छन्। “ठूला ढुंगा र लेदोका कारण बाटो बन्द भएकाले भित्रतर्फ केही खाली स्थान हुनसक्ने अनुमान गर्न सकिन्छ। यदि उद्धार तथा सफाइको काम सहज रूपमा अघि बढ्यो भने आज साँझसम्म शुभ समाचार प्राप्त हुनसक्ने आशा गर्न सकिन्छ,” उनले भनेका छन्।

न्यौपानेले सबैलाई सकारात्मक आशा र प्रार्थना कायम राख्नसमेत आग्रह गरेका छन्। यसअघि ऊर्जा क्षेत्रका नेता कुलमान घिसिङले पनि चिलिमे हाइड्रोपावरको विद्युत् गृहमा फसेकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको बताएका थिए। उद्धार टोलीले सुरुङभित्र फसेकाहरूको अवस्थाबारे यकिन गर्न खोजी तथा अवरोध हटाउने कामलाई तीव्रता दिइरहेको छ।