काठमाडौ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा तथा दर्शन गर्न आउने व्रतालु महिलाको बिहानैदेखि भीड लागेको छ ।
भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खुला गरेको जनाएको छ । भक्तजनको व्यवस्थापनका लागि कोषले चारवटा छुट्टाछुट्टै दर्शन मार्गको व्यवस्था गरेको छ ।
मित्रपार्क, जयवागेश्वरी, सिनामङ्गल तथा पिङ्गलास्थानतर्फबाट आउने भक्तजनलाई छुट्टाछुट्टै मार्गमार्फत पशुपतिनाथको दर्शन गराउने व्यवस्था मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।
मित्रपार्कतर्फबाट आउने भक्तजनलाई उमाकुण्ड, दक्षिणामूर्ति र कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट प्रवेश गराई मन्दिरको उत्तरतर्फको र्याम्पबाट दर्शन गराएर पश्चिम ढोकाबाट बाहिर निकाल्ने व्यवस्था गरिएको छ ।
जयवागेश्वरीतर्फबाट आउने भक्तजनका लागि दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार हुँदै आकासे पुलमार्फत भुवनेश्वरी र नासलचोकबाट शङ्कराचार्य मठअघिको मार्ग हुँदै मन्दिरको पश्चिमतर्फबाट दर्शन गर्ने व्यवस्था गरिएको छ ।
सिनामङ्गल तथा विमानस्थलतर्फबाट आउने भक्तजनलाई तिलगङ्गा, राम मन्दिर र वाग्मती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल पुगेर पूर्वढोकाबाट मन्दिर प्रवेश गरी पूर्वमुहारको दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, पिङ्गलास्थानतर्फबाट आउने भक्तजनलाई चार शिवालय, पञ्चदेवल वृद्धाश्रम र चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारबाट दर्शन गराएर उन्मत्त भैरव मन्दिर हुँदै बाहिर निकाल्ने व्यवस्था गरिएको छ ।
कोषका अनुसार बिहानको समयमा भक्तजनले करिब आधा घण्टामै लाममा बसेर पशुपतिनाथको दर्शन गर्न सक्ने अवस्था रहेको छ । भदौरे झरीका बाबजुद पनि व्रतालु महिलाहरू लाममा बसेर दर्शन गरिरहेका छन् ।
तीजका अवसरमा पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । कोषका अनुसार करिब चार हजार सुरक्षाकर्मी र विभिन्न २४ धार्मिक तथा सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक परिचालन गरिएको छ ।
दर्शनार्थीका लागि सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा चन्दन वितरणको व्यवस्था गरिएको छ । हरितालिका तीजका अवसरमा काठमाडौंका गोकर्णेश्वर, नागेश्वर, मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायत देशभरका शिवालयमा पनि पूजा तथा दर्शन गर्न भक्तजनको भीड लागेको छ ।




प्रतिक्रिया