काठमाडौं । रसुवा र गोरखा–धादिङ सीमाक्षेत्रका बाढीपीडितलाई वितरण गर्न संकलन गरिएका राहत सामग्री महिनौँदेखि सहरी विकास विभागको स्टोरमा थन्किएका छन्। बाढी प्रभावितलाई खाद्यान्न, पिउने पानी, लत्ताकपडालगायतका सामग्री आवश्यक भइरहेका बेला संकलित राहत गोदाममै थुप्रिएपछि वितरण व्यवस्थापनमाथि प्रश्न उठेको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको सचिवालयले संकलन गरेका राहत सामग्री सहरी विकास विभागको भूमिगत कक्षसहित विभिन्न स्थानमा राखिएका छन्। विभागका माथिल्ला तलाका अधिकांश ठाउँसमेत राहत सामग्रीले भरिएको बताइएको छ।
रसुवाको भोटेकोसी र गोरखा–धादिङ सीमामा पर्ने बूढीगण्डकी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकले अझै पर्याप्त राहत नपाएको गुनासो गरिरहेका छन्। तर, उनीहरूका लागि संकलन गरिएका सामग्री भने सम्बन्धित स्थानमा पुग्न सकेका छैनन्।
विभागमा कार्यरत एक कर्मचारीका अनुसार लामो समयदेखि गोदाममा राखिएका केही सामग्री बिग्रिने अवस्थामा पुगेका छन्। समयमै वितरण गर्न नसक्दा प्रयोग गर्न मिल्ने सामग्रीसमेत खेर जाने जोखिम बढेको छ।
गोदाममा खाद्यान्न, पिउने पानी, लत्ताकपडा, बिस्कुट, प्लास्टिकका बाल्टिन र मग लगायतका सामग्री राखिएका छन्। बाढी प्रभावित क्षेत्रमा राहतको आवश्यकता कायमै रहे पनि ती सामग्री वितरणमा ढिलाइ भएको देखिएको छ।




प्रतिक्रिया