भोटेकोशी बाढी: ५ हजार टनभन्दा बढी धान नष्ट, पशुधनमा मात्रै १ अर्ब ११ करोडको क्षति


काठमाडौँ। काठमाडौँ-रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि तथा पशुपालन क्षेत्रमा ठूलो क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्तरूपमा तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता मूल्यांकन’ (आरएनडीएन) प्रतिवेदनले बाढीका कारण ग्रामीण अर्थतन्त्र र कृषकको जीविकोपार्जनमा गम्भीर असर परेको देखाएको हो।

प्रतिवेदनअनुसार बाढीका कारण विशेषगरी धान, तरकारी खेती र पशुपन्छी क्षेत्रमा व्यापक विनाश भएको छ।

धान र तरकारी खेतीमा ठूलो नोक्सानी

प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा गरी कुल १ हजार ६६९ हेक्टर क्षेत्रफलको धान खेती प्रभावित भएको छ। यसबाट ५ हजार ८४३ टन धान उत्पादनमा प्रत्यक्ष क्षति पुगेको छ। त्यस्तै, १३७ हेक्टर क्षेत्रफलमा लगाइएको करिब १ हजार ८४३ टन तरकारी बाढीले नष्ट पारेको छ।

भौगोलिक रूपमा नुवाकोट, धादिङ, गोरखा र रसुवाका स्थानीय तहहरू बढी प्रभावित भएका छन्।

  • नुवाकोट: सबैभन्दा बढी क्षति नुवाकोटको विदुर नगरपालिकामा भएको छ। विदुरमा ७०० हेक्टर धान खेती प्रभावित हुँदा २ हजार ४५० टन धान नष्ट भएको छ। यस्तै, लिखु गाउँपालिकामा २३० हेक्टर (८०५ टन धान) र बेलकोटगढी नगरपालिकामा २०० हेक्टर (७०० टन धान) मा क्षति पुगेको छ।
  • धादिङ: बेनीघाट रोराङमा २५ हेक्टर, गजुरीमा ७५ हेक्टर, सिद्धलेकमा ५८ हेक्टर र गल्छीमा ८७ हेक्टर धान खेती प्रभावित भएको छ।
  • रसुवा: गोसाइँकुण्ड गाउँपालिकामा १४० हेक्टर र उत्तरगया गाउँपालिकामा १४३ हेक्टर धान खेतीमा बाढीले क्षति पुर्‍याएको छ।

तरकारी खेतीतर्फ पनि नुवाकोटकै विदुर क्षेत्र बढी प्रभावित बनेको छ। विदुरमा ९८ हेक्टर तरकारी बाली नष्ट हुँदा १ हजार ३२३ टन उत्पादन घट्ने अनुमान गरिएको छ। धादिङका बेनीघाट रोराङमा ९ हेक्टर, गजुरीमा ७ हेक्टर, गल्छीमा १४ हेक्टर र सिद्धलेकमा २ हेक्टर तरकारी क्षेत्रमा नोक्सानी पुगेको छ।

पशुधनतर्फ १ अर्ब ११ करोडको क्षति

बाढीले पशुपन्छी क्षेत्रमा पारेको प्रभाव अझ भयानक छ। विवरणअनुसार कुल २ लाख ५२ हजार ४४५ पशुपन्छी बाढीबाट प्रभावित भएका छन्, जसको अनुमानित आर्थिक क्षति रु. १ अर्ब ११ करोड ३९ लाख (१११ करोड ३९ लाख) बराबर रहेको छ।

संख्याका हिसाबले सबैभन्दा धेरै २ लाख १४ हजार ८२७ वटा कुखुरा प्रभावित भएका छन् (कुल संख्याको ८५.१ प्रतिशत)। तर, कुल आर्थिक क्षतिमा भने ठूला पशुधनको हिस्सा बढी छ:

  • भैँसी: ४ हजार ५७२ भैँसी प्रभावित हुँदा रु. ४५ करोड ७२ लाख बराबरको क्षति भएको छ (कुल क्षतिको ४१ प्रतिशत)।
  • बाख्रा-च्याङ्ग्रा: रु. ३९ करोड १३ लाख बराबरको क्षति (३५.१ प्रतिशत)।
  • गाईगोरु: रु. १७ करोड ९२ लाख बराबरको क्षति (१६.१ प्रतिशत)।
  • अन्य: बंगुर-बँदेलमा रु. १ करोड ९६ लाख, अन्य पशुमा रु. १ करोड ४ लाख, कुखुरामा रु. ५ करोड ३७ लाख, भेडामा रु. २५ लाख र अन्य चराचुरुङ्गीमा करिब रु. १ लाख बराबरको नोक्सानी भएको छ।

भैँसी, बाख्रा-च्याङ्ग्रा र गाईगोरुबाट मात्रै कुल पशुधन क्षतिको ९२.३ प्रतिशत हिस्सा ओगटेको छ। प्रतिवेदनले बाढीका कारण कृषकको आयस्रोत घटेको र ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन नकारात्मक असर परेको निष्कर्ष निकालेको छ।