काठमाडौँ । नेकपाका नेता एवं सांसद महेन्द्र शाहीले मुलुक गम्भीर सङ्कटमा परेका बेला राष्ट्रियताको रक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । राष्ट्रियता नै जोगाउन नसकिए विकास, पूर्वाधार, सामाजिक न्याय र सुशासनका कुराहरू सहायक विषय मात्र बनेर जाने उनले बताए ।
रिपोर्टस क्लबमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको वर्तमान अवस्था र राजनीतिक परिदृश्यबारे आफ्ना धारणा राख्दै नेपालको भूराजनीतिक संवेदनशीलतालाई बुझेर अघि बढ्नुपर्ने बताए । ‘लामो सङ्घर्ष र बलिदानीबाट आजका दिनसम्म हामीले राष्ट्रियता जोगाएका छौँ । यदि फेरि देशमा कुनै किसिमको सङ्कट आयो भने सम्पूर्ण नागरिकले आफ्नो दायित्व पूरा गर्नैपर्छ,’ उनले भने ।
विगतमा भएका भ्रष्टाचार र राज्यको सम्पत्ति दोहनबारे कडा टिप्पणी गर्दै शाहीले विगतमा लुटिएको सम्पत्ति राज्यको ढुकुटीमा फिर्ता ल्याउनुपर्ने बताए । कुन-कुन विकास आयोजनामा कस-कसले भ्रष्टाचार गरे र राज्यलाई लुटे, त्यसको निष्पक्ष छानबिन हुनैपर्छ,‘ उनले भने, ’पुराना राजनीतिक दलहरूले अपेक्षाअनुसार काम गर्न सकेनन् भनेर नै जनताले रास्वपालाई रोजेका हुन् । हिजो माओवादीप्रति जनताको जुन अपेक्षा थियो, आज त्योभन्दा बढी अपेक्षा रास्वपासँग छ । तर रास्वपा पनि तिनै पुराना दलहरूकै ढर्रामा हिँड्यो भने उसको पतन पनि निश्चित छ ।‘
नेता शाहीले रास्वपाले जनतासामु गरेका प्रतिबद्धता, आफ्नो घोषणापत्र र १०० बुँदे नीतिअनुसार तोकिएको सीमाभित्रै काम गर्नुपर्ने औंल्याए ।
जनताका आधारभूत समस्या समाधान हुन नसकेको भन्दै उनले सरकार र सम्बद्ध पक्षको ध्यानाकर्षण गराए । ‘आज पनि जनता सिलिन्डरको लाइनमा बस्न बाध्य छन्, महँगी चरम चुलीमा पुगेको छ, बेरोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था उस्तै छ,‘ उनले थपे, ‘विदेशमा रहेका युवालाई स्वदेश फर्काउँछौँ भनेर प्रतिबद्धता जनाइएको थियो, तर व्यवहारमा कुनै ठोस काम हुन सकेको छैन ।’




प्रतिक्रिया