धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले धादिङको गल्छी गाउँपालिका–६ का बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेका छन्। सोमबार साँझ गल्छी पुगेर धमलाको टोलीले प्रभावित परिवारलाई विभिन्न खाद्यान्न तथा अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो।
राहत सामग्री हस्तान्तरण गर्दै धमलाले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनामा जोड दिएका छन् । विपत्तिका कारण घरबार तथा जीविकोपार्जन गुमाएका परिवारलाई सामान्य अवस्थामा फर्काउन राज्य, स्थानीय तह र नागरिकस्तरबाट समेत निरन्तर पहल आवश्यक रहेको उनलेव बताए ।
‘राहत दिएर मात्र हाम्रो जिम्मेवारी पूरा हुँदैन। बाढीले विस्थापित भएका परिवारलाई पुनःस्थापित गर्नुपर्छ,’ धमलाले भने।
उनले पुनर्स्थापनाका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग तथा पहल गर्ने प्रतिबद्धता पनि जनाए।
गत भदौ १० गते आएको भोटेकोशी बाढीपछि धमलाले रसुवा, नुवाकोट र धादिङका विभिन्न प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्दै आएका छन्। यसआघि उनले गल्छी, गजुरी, बेनीघाट रोराङलगायत धादिङका प्रभावित क्षेत्रमा राहत पुर्याएका छन् भने नुवाकोटको विदुर र वेत्रावती तथा रसुवाको धुन्चे, स्याफ्रुबेँसी, चिलिमेलगायत क्षेत्रमा समेत पुगेर प्रभावित परिवारको अवस्था बुझेका थिए ।
उनले रसुवा-काठमाडौ जोड्ने वैकल्पिक सडकको दयनीय अवस्था देखेपछि भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई तत्काल कालोपत्रे सुरु गर्न ध्यानाकर्षण पत्रसमेत बुझाए । उनको पत्र बुझेसँगै मन्त्री लम्सालले उक्त सडकखण्ड तत्काल कालोपत्रे गर्न मन्त्रालयका सचिव र सडक विभागलाई समेत निर्देशन दिइएको थियो ।





प्रतिक्रिया