काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नुपरेको क्षति र हिमाली क्षेत्रमा परेको असरलाई संयुक्त राष्ट्रसंघको महासभामा उठाउने बताएका छन्।
मुस्ताङको जोमसोममा मंगलबारदेखि सुरु भएको ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ का लागि शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले आगामी संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले भोगिरहेको जलवायु संकटबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताएका हुन्। प्रधानमन्त्रीले शाहले सन्देशमा भनेका छन्, ‘जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी हो। संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा जलवायु परिवर्तनका कारणल नेपालले बेहोर्नुपरेको क्षतिबारे हामीले स्पष्ट पार्ने नै छौँ।’
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन (मोहन थकाली) ले सम्मेलन उद्घाटनका क्रममा प्रधानमन्त्री शाहको शुभकामना सन्देश वाचन गरेका थिए।
सन्देशमा प्रधानमन्त्री शाहले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रमा हिमनदी पग्लिने, हिमताल फुट्ने, पानीका मुहान सुक्ने तथा मौसममा असामान्य परिवर्तन हुनेजस्ता समस्या बढिरहेको उल्लेख गरेका छन्।
जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव स्थानीय जनजीवन, कृषि तथा जैविक विविधतामा समेत पर्न थालेको भन्दै उनले यसको सामना गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्।
जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरण र व्यवस्थापन कुनै एक देशको मात्र विषय नभई विश्व समुदायको साझा जिम्मेवारी भएको प्रधानमन्त्री शाहको भनाइ छ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन असोज ६ गते अमेरिका जाने कार्यक्रम छ। उनले महासभालाई असोज ८ गते सम्बोधन गर्ने तय भएको छ भने असोज ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।




प्रतिक्रिया