उच्चका तीन र १५ जिल्ला न्यायाधीशको सरुवा, को कँहा ?


काठमाडौं । न्यायपरिषद्को बैठकले उच्च अदालतका तीनजना न्यायाधीश र १५ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।

प्रधानन्यायाधीश डा. मनोज शर्मासहित मंगलबार (भदौ ३०) बसेको परिषद् पदाधिकारी बैठकले सरुवा निर्णय गरेको हो । परिषद् बैठकले उच्च विराटनगरका न्यायाधीश न्यायाधीश महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलास, उच्च अदालत जनकपुरका न्यायाधीश मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश रितेन्द्र थापालाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलास सरुवा गरिएको छ ।

यस्तै, सर्वोच्च अदालतका इजलास अधिकृत भरतकुमार दाहाललाई कैलाली जिल्ला अदालतमा नियुक्तिका लागि सिफारिस समेत गरेको छ । मंगलबार नै बसेको परिषद् बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल, जिल्ला न्यायाधीश हिमलाल बेलबासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

आजै न्याय सेवा आयोग बैठकले सर्वोच्च अदालतका सहरजिष्ट्रारद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिष्ट्रारमा सिफारिसको निर्णय गरेको थियो ।