आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको विषय संसद्‌मा उठ्यो


काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचाररत बिरामीसँग अन्तर्वार्ता लिएको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताएकी छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले दुई दिनअघि सार्वजनिक भएको उक्त अन्तर्वार्ताले स्वास्थ्य उपचारसँग जोडिएको संवेदनशीलता र गोपनीयताको प्रश्न उठाएको बताइन्।

उनले आईसीयूमा उपचाररत बिरामीको स्वास्थ्य अवस्था, गोपनीयता र संक्रमण नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिनुपर्ने उल्लेख गर्दै त्यस्तो स्थानमा अन्तर्वार्ता लिनु र त्यसका लागि अनुमति दिनु दुवै गम्भीर विषय भएको बताइन्।

‘मानिसको जीवनभन्दा ठूलो अर्को कुनै विषय हुन सक्दैन,’ उनले भनिन्।

यस विषयमा यसअघि नै प्रेस काउन्सिल नेपालले समेत ध्यानाकर्षण भएको जनाएको थियो। काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले विज्ञप्ति जारी गर्दै घटनाप्रति चासो व्यक्त गरेका थिए।

रसुवा बाढीमा परेर उद्धार गरिएका एक व्यक्तिलाई माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजनाबाट १० दिनपछि उद्धार गरिएको थियो। उद्धारपछि उनको वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचार भइरहेका बेला अन्तर्वार्ता लिइएको र उक्त सामग्री ‘इन्साइड द बंकर’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो।