रसुवाका बाढी प्रभावित समुदायमा राहत सहयोग, ३ सय परिवार लाभान्वित


रसुवा । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा विस्थापित समुदायलाई राहत सामग्री वितरण गरिएको छ।

नेपाल ट्रेकर्स बुकिङ एण्ड एक्सपेडिसन प्रा.लि.का प्रबन्ध निर्देशक रमेश धमलाको नेतृत्वमा प्रभावित क्षेत्रमा पुगेको टोलीले बाढी प्रभावित नागरिकलाई आवश्यक राहत सामग्री वितरण गरेको हो।

राहत अभियानअन्तर्गत कालिका गाउँपालिका–२ र ३ का बाढी प्रभावित समुदाय तथा उत्तरगया गाउँपालिकास्थित नीलकण्ठ स्कुल होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित नागरिकलाई समेत राहत सामग्री उपलब्ध गराइएको धमलाले जानकारी दिए ।

स्थानीय जनप्रतिनिधि तथा समुदायका सदस्यसँगको समन्वयमा गरिएको राहत वितरणबाट करिब ३०० जना व्यक्ति तथा परिवार लाभान्वित भएको जनाइएको छ।

राहत सामग्रीमा चामल तथा अन्य खाद्यान्न, भान्सा तथा खाना पकाउने सामग्री, कपडा तथा बालबालिकाका लुगा, डायपर तथा सरसफाइ सामग्री, औषधि तथा आधारभूत स्वास्थ्य सामग्रीलगायत दैनिक जीवनमा आवश्यक वस्तुहरू रहेको थियो ।

धमलाका अनुसार जनप्रतिनिधि तथा स्थानीय समुदायसँगको समन्वयले वास्तविक रूपमा आवश्यक परेका परिवार तथा व्यक्तिसम्म राहत पुर्‍याउन सहज भयो ।

तीन सय विद्यार्थीलाई सहयोग गर्ने तयारी

राहत अभियानको अर्को चरणमा स्थानीय एक विद्यालयमा अध्ययनरत करिब ३०० जना विद्यार्थीलाई समेत सहयोग गर्ने तयारी गरिएको छ।

प्रबन्ध निर्देशक धमलाले विद्यार्थीहरूलाई कपडा, खाद्यान्न तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउने योजना रहेको जानकारी दिए।