बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिचको बहुप्रतीक्षित द्विपक्षीय बैठक सम्पन्न भएको छ ।
चीनको सरकारी प्रसारण संस्था सीसीटीभीले दुई शीर्ष नेताबिचको वार्ता सकिएको जानकारी दिएको हो ।
बैठकको सुरुवातमा अमेरिकी राष्ट्रपति ट्रम्पले व्यापार, होर्मुज स्ट्रेट, इरानको परमाणु कार्यक्रम र रुस–युक्रेन युद्धलगायत विभिन्न विषयमा चीनसँग सहकार्य गर्ने विषय उठाएका थिए । अमेरिका र चीन दुवैले होर्मुज स्ट्रेटबाट ऊर्जा आपूर्ति निरन्तर जारी रहोस् र इरानसँग परमाणु हतियार नहोस् भन्ने चाहेको ट्रम्पले बताए । रुस–युक्रेन युद्धको सन्दर्भमा बोल्दै उनले प्रत्येक महिना करिब २५ हजार सैनिकको ज्यान गइरहेकाले दुवै देशले यो युद्ध अन्त्य गराउन मद्दत गर्न चाहेको उल्लेख गरे ।
यसैगरी, ट्रम्पले ‘३० फर ३०’ सम्झौताको चर्चा गर्दै यसअन्तर्गत दुवै पक्षले करिब ३०–३० अर्ब डलर बराबरको भन्सार शुल्क (ट्यारिफ) कटौती गर्नुपर्ने बताए । यसबाट अमेरिकी किसानहरूलाई फाइदा पुगेको उल्लेख गर्दै उनले चीनलाई अमेरिकी किसानहरूका हितमा थप कदम चाल्न आग्रह गर्नेसमेत बताए ।
जिनपिङसँगको आफ्नो व्यक्तिगत सम्बन्धलाई ‘उत्कृष्ट’ बताउँदै ट्रम्पले भने, ‘मलाई लाग्छ, जबसम्म तपाईं र म जिम्मेवारी सम्हालिरहेका छौँ, हामीलाई कहिल्यै कुनै समस्या हुनेछैन ।’
समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ राष्ट्रपति सीले पनि चीन–अमेरिका सम्बन्धलाई ‘सही दिशामा अघि बढाइरहन’ ट्रम्पसँग मिलेर काम गर्न आफू तयार रहेको बताए । दुवै देशबिचको सम्बन्ध समग्रमा स्थिर र सुधारोन्मुख रहेको उल्लेख गर्दै उनले आपसी सम्मान, निष्पक्षता र एक–अर्काको अनुकूल कदम चाल्ने आधारमा सम्बन्धलाई नयाँ स्वरूप दिइएको धारणा राखे ।
एपेक शिखर सम्मेलन आयोजना भइरहेको दक्षिणी चिनियाँ सहर सेन्जेनको रूपान्तरणलाई अमेरिका–चीन सम्बन्धसँग तुलना गर्दै राष्ट्रपति सीले ट्रम्पसँग भने, ‘करिब ४० वर्षभन्दा केही बढी समयमै एउटा सानो माझी गाउँ अन्तर्राष्ट्रिय महानगरमा परिणत भएको छ । यस रूपान्तरणको पछाडि नयाँ बाटो पहिल्याउने, प्रयोग गर्ने र नेतृत्व लिने साहसका साथै कडा परिश्रम लुकेको छ ।’
रचनात्मक चीन–अमेरिका सम्बन्ध निर्माण गर्नु पनि कुनै पूर्वनजिर नभएको एक अग्रगामी कार्य रहेको सीले बताए । यसका लागि पनि नयाँ बाटो पहिल्याउन, प्रयोग गर्न, यथार्थको धरातलमा उभिन र कामलाई सफल निष्कर्षमा पुर्याउन साहस गर्नुपर्नेमा उनले जोड दिए ।
चीनको प्रविधि केन्द्र (टेक हब) का रूपमा रहेको सेन्जेनको सफलताको राष्ट्रपति सीले अघिल्लो दिन विश्वभरका व्यावसायिक तथा राजनीतिक नेताहरूलाई सम्बोधन गर्ने क्रममा समेत प्रशंसा गरेका थिए । एजेन्सी




प्रतिक्रिया