काठमाडौं । सरकारले आमाबुबाले पाउने प्रसूति तथा स्याहार बिदाको अवधि बढाउने तयारी गरेको छ । प्रस्तावित व्यवस्थाअनुसार आमाले हाल पाउँदै आएको ९० दिनको प्रसूति बिदा बढाएर ६ महिना पुर्याइनेछ भने बाबुको बिदा १५ दिनबाट बढाएर ४२ दिन बनाउने प्रस्ताव गरिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौत्तमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि विधेयक तयार भइसकेको छ । अब उक्त विधेयकलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा पेस गर्ने तयारी मन्त्रालयले गरेको छ ।
प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिनासम्म तलबसहितको प्रसूति बिदा दिने व्यवस्था राखिएको छ । त्यस्तै, बाबुलाई पनि ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा उपलब्ध गराउने प्रस्ताव गरिएको मन्त्री गौत्तमले बताएकी छन् ।
मन्त्री गौत्तमले यसलाई सुरक्षित मातृत्व र अभिभावकत्वका क्षेत्रमा महत्वपूर्ण नीतिगत परिवर्तनका रूपमा व्याख्या गरेकी छन् । व्यस्त जीवनशैली र बढ्दो कामको चापका कारण धेरै परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका बेला नवजात शिशु र परिवारसँग अभिभावकले पर्याप्त समय बिताउन सक्ने वातावरण बनाउन यस्तो व्यवस्था प्रस्ताव गरिएको उनले बताइन् ।
उनका अनुसार मातृत्व प्राकृतिक रूपमा आमासँग जोडिए पनि बच्चाको पालनपोषण र हुर्काउने जिम्मेवारी आमाको मात्रै नभई बाबु–आमा दुवैको साझा दायित्व हो । त्यसैले बच्चा जन्मिएको प्रारम्भिक समयमा दुवै अभिभावकलाई परिवार र नवजात शिशुको हेरचाहका लागि पर्याप्त समय उपलब्ध गराउनु राज्यको जिम्मेवारीसमेत रहेको उनले भनाइ छ ।




प्रतिक्रिया