काठमाडौँ । सर्वोच्च अदालतको मुद्दा फाँटमा गएराति विद्युत् सर्ट हुँदा आगलागी भएको छ । आगलागीका कारण फाँटमा रहेका टेबल, कुर्सीसहित तीन वटा कम्प्युटरमा क्षति पुगेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
उनका अनुसार कार्यालय बन्द गरेर ढोका लगाइएको अवस्थामा आगलागी भएकाले घटना तत्काल थाहा हुन सकेन । बिहान कार्यालय खोल्ने क्रममा मात्रै आगलागी भएको जानकारी भएको उनले बताए ।
प्रवक्ता कोइरालाले आगलागीबाट महत्वपूर्ण मिसिल तथा फाइलमा भने कुनै क्षति नपुगेको स्पष्ट पारेका छन् । ‘गएराति विद्युत् सर्ट भएर आगलागी भए पनि महत्वपूर्ण मिसिल फाइल सुरक्षित छन्,’ उनले भने ।
यसअघि २०८२ भदौ २४ गते भएको आगजनीपछि सर्वोच्च अदालतले एनेक्स भवन र निर्माणाधीन नयाँ भवनबाट सेवा सञ्चालन गर्दै आएको छ । हाल निर्माणाधीन भवनको एक भागबाट इजलास तथा प्रशासनिक काम सञ्चालन भइरहेको छ ।




प्रतिक्रिया