तरुण दल सिन्धुपाल्चोककाे बैठक सम्पन्न,के भयाे छलफल ?



सिन्धुपाल्चोक । नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको बैठक सम्पन्न भएको छ। बैठक आज बिहान जिल्ला अध्यक्ष संजय लामाको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

बैठकमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनसँग सम्बन्धित विषय, जिल्लाको सांगठनिक अवस्था तथा आगामी राजनीतिक गतिविधिबारे छलफल गरिएको छ।



बैठकमा आफ्ना धारणा राख्दै नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला उपसभापति दोर्जे लामाले १५औँ महाधिवेशनलाई संगठन सुदृढीकरण र कार्यकर्ताबीचको एकता मजबुत बनाउने अवसरका रूपमा लिनुपर्ने बताए ।

उनले पार्टीको महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रियामा सीमित नभई संगठनलाई थप व्यवस्थित, गतिशील र जनमुखी बनाउने महत्वपूर्ण अवसर भएको धारणा राखे ।

“महाधिवेशनलाई व्यवस्थित र मर्यादित ढंगले सम्पन्न गर्न सबै तहका नेता तथा कार्यकर्ता जिम्मेवार भएर अघि बढ्नुपर्छ। पार्टीभित्रको एकता, संगठनको अनुशासन र कार्यकर्ताको भावनालाई केन्द्रमा राखेर आगामी यात्रा तय गर्न आवश्यक छ,” उपसभापति लामाले भने ।

युवाहरूलाई पार्टी संगठनमा थप सक्रिय बनाउँदै नयाँ पुस्तालाई नेतृत्व विकासको अवसर दिनुपर्नेमा उनकाे जाेड थियाे । “तरुण शक्ति पार्टीको मेरुदण्ड हो। युवाको ऊर्जा, क्षमता र सिर्जनशीलतालाई संगठन निर्माणमा सही ढंगले परिचालन गर्न सके पार्टी अझ बलियो बन्न सक्छ,” उनकाे भनाइ थियो।

बैठकमा १५औँ महाधिवेशनको तयारी, जिल्लामा पार्टी संगठनको अवस्था, तरुण दलको भूमिका तथा आगामी कार्यक्रमका विषयमा समेत छलफल भएको थियो।

बैठकले संगठनलाई थप चलायमान बनाउँदै जिल्लाका सबै तहमा समन्वय र सहकार्य बढाउने तथा महाधिवेशनलाई लक्षित गर्दै आवश्यक तयारी अघि बढाउने विषयमा जोड दिएको जनाइएको छ।