काठमाडौँको कूटनीतिक वृत्तमा एउटा पुरानो भनाइ छ- ‘नेपाल–भारत सम्बन्धमा थोरै मात्र तरंग आउँदा पनि त्यसको प्रतिध्वनि सिंहदरबार र बालुवाटारदेखि लैनचौरसम्म ठूलो सुनिन्छ।’ तर, विगत चार वर्षको अवधिमा भने यो समीकरण पूर्णतः फरक र सुखद् रह्यो।

भारतीय परराष्ट्र सेवाका परिपक्व कूटनीतिज्ञ नवीन श्रीवास्तवले नेपालका लागि भारतीय राजदूतका रूपमा काठमाडौँमा बिताएको कार्यकाल शान्त मात्र रहेन, नतिजामुखी सहकार्यका दृष्टिले पनि ऐतिहासिक र अनुकरणीय बन्न पुग्यो।

सन् २०२२ को जुन (वि.सं. २०७९ जेठ) मा काठमाडौँ उत्रिएका राजदूत श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरेर छिट्टै नयाँ दिल्ली फर्किने तयारीमा छन् । राजदूत श्रीवास्तवको कार्यकाल राजनीतिक दृष्टिले काठमाडौँमा निकै उथलपुथलपूर्ण रह्यो। उनी राजदूत भएर आउँदा शेरबहादुर देउवा नेतृत्वको सरकार थियो। त्यसपछिको करिब ३६ महिनाको अवधिमा नेपालमा पुष्पकमल दाहाल, केपी शर्मा ओली र सुशीला कार्कीको अन्तरिम सरकार हुँदै बालेन्द्र शाहसम्म गरी ५ वटा फरक–फरक नेतृत्वका सरकारहरू बने, जसलाई राजदूत श्रीवास्तवले नजिकबाट नियाले ।

नेपालमा सत्ता समीकरणका अनेकौँ घुम्ती, गठबन्धनको जोडघटाउ र राजनीतिक उतारचढावका बीच पनि राजदूत श्रीवास्तवले भारतीय दृष्टिकोणलाई सदैव तटस्थ, परिपक्व र संस्थागत बनाएर राखे। कुनै पनि आन्तरिक राजनीतिक खिचातानीमा नमुछिनु, सबै राजनीतिक दल र नेतृत्वसँग समान दूरी र आत्मीयता कायम राख्नु र विवादबाट पूर्णतः टाढा रहनु श्रीवास्तवको कूटनीतिक सन्तुलनको सबैभन्दा ठूलो सफलता हो।

पूर्वी एसियाली मामिला र भारत-चीन सीमा वार्ताका अनुभवी ज्ञाताका रूपमा काठमाडौँ आएका श्रीवास्तवले नेपाल-भारत सम्बन्धलाई थप प्रगाढ बनाउन अहं भूमिका खेले। यस अवधिमा उनी सार्वजनिक मञ्चहरूमा अनावश्यक वक्तव्यबाजीभन्दा द्विपक्षीय आयोजनाहरूको प्रगति समीक्षा गर्न र अवरोध हटाउन बढी क्रियाशील रहे।

उनको यही सुझबुझपूर्ण कार्यशैलीका कारण उनको कार्यकालमा विभिन्न क्षेत्रमा सहकार्यका नयाँ आयामहरू थपिए । जस्तै,
ऊर्जा र जलविद्युत्मा ऐतिहासिक फड्को
श्रीवास्तवको कार्यकाल नेपालको ऊर्जा क्षेत्रका लागि गेम चेन्जर साबित भयो। नेपालबाट भारततर्फ विद्युत् निर्यातको दायरा फराकिलो बनाउन, दीर्घकालीन विद्युत् व्यापार सम्झौताहरूलाई मूर्तरूप दिन र गोरखपुर-बुटवल ४०० केभी अन्तरदेशीय प्रसारण लाइनजस्ता पूर्वाधारलाई तीव्रता दिन उनको भूमिका निर्णायक रह्यो। नेपाललाई विद्युत् उत्पादकबाट विद्युत् निर्यातक राष्ट्र बनाउने भारतीय सहयोगको नेतृत्व श्रीवास्तवले नै गरे।
डिजिटल र भौतिक कनेक्टिभिटी
नेपाल र भारतबीचको डिजिटल भुक्तानी प्रणाली र कोड प्रणालीको सुरुवात राजदूत श्रीवास्तवकै कार्यकालको महत्त्वपूर्ण उपलब्धि हो। यसले दुवै देशका नागरिक, व्यवसायी र तीर्थयात्रीहरूलाई सहजता प्रदान गर्यो। यसका साथै जयनगर–कुर्था रेलमार्गको पूर्ण सञ्चालन, एकीकृत जाँच चौकीहरूको निर्माण र सीमावर्ती व्यापारिक मार्गहरूको स्तरोन्नतिले नेपाल-भारत कनेक्टिभिटीलाई नयाँ उचाइमा पुर्यायो।
जनस्तरका विकास आयोजना
शिक्षा, स्वास्थ्य, खानेपानी र सामुदायिक पूर्वाधारका क्षेत्रमा भारत सरकारले सञ्चालन गर्ने उच्च प्रभाव सामुदायिक विकास आयोजनाहरूलाई पारदर्शी र स्थानीय आवश्यकतामा आधारित बनाउन राजदूत श्रीवास्तवले महत्त्वपूर्ण योगदान दिए। नेपालका ७७ वटै जिल्लाका दुर्गम गाउँसम्म भारतीय सहयोगका एम्बुलेन्स, बस र विद्यालय भवनहरू पुग्ने क्रम उनको कार्यकालमा अझ तीव्र बन्यो।
भोटेकोशी बाढी, भूकम्प र उद्धारमा तत्काल पहल

राजदूत श्रीवास्तवको कूटनीतिक सफलता कागजी सम्झौतामा मात्र सीमित रहेन, नागरिकको सुख–दुःखमा पनि उत्तिकै छताछुल्ल भयो। हालै भोटेकोशीमा आएको भीषण बाढी र कटानपछि उत्पन्न संकटमा राजदूत श्रीवास्तवले देखाएको तदारुकता र संवेदनशीलता नेपालका लागि अविस्मरणीय छ। बाढीलगत्तै उनको व्यक्तिगत पहल र द्रुत निर्णय क्षमताका कारण भारत सरकारले तत्कालै उद्धार सामग्री, अस्थायी पुल, राहत सामग्री र प्राविधिक टोली परिचालन गर्यो। प्रभावित क्षेत्रका नागरिकको पुनर्स्थापना र पुनर्निर्माणका लागि भारतले पुर्याएको ठूलो सहयोगको पछाडि राजदूत श्रीवास्तवको चौबीसै घण्टाको खटाइ र मानवीय दृष्टिकोण नै मुख्य कारक थियो। यसअघि जाजरकोट भूकम्पका बेला पनि भारतले पठाएको पहिलो राहत सामग्री पठाउन उनले खेलेको भूमिका उत्तिकै सराहनीय थियो।

भारतको विदेश मन्त्रालयमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका विज्ञ कूटनीतिज्ञ नवीन श्रीवास्तवले ‘एक सुदृढ र भरपर्दो मित्र’का रूपमा आफ्नो देश र आफूलाई नेपालमा स्थापित गरे। कूटनीतिमा ठूला कुरा गर्नुभन्दा साना–साना परिणामहरू मार्फत ठूलो विश्वास जित्नु नै सच्चा सफलता हो भन्ने कुरा उनले प्रमाणित गरिदिए।
काठमाडौँबाट बिदा हुँदै गर्दा राजदूत श्रीवास्तवले आफूसँगै कुनै पनि विवादको दाग बोकेका छैनन् । बरु, दुई देशबीचको प्रगाढ भरोसा, मैत्री र सहकार्यको एउटा बलियो जग छाडेर जाँदैछन्। पाँचवटा सरकारसँग काम गर्दा पनि शतप्रतिशत सफा र सफल कूटनीतिक अभिलेख राख्न सफल राजदूत नवीन श्रीवास्तवको यो कार्यकाल नेपाल-भारत कूटनीतिक इतिहासमा लामो समयसम्म एउटा बेन्चमार्क अर्थात् मानकको रूपमा याद गरिनेछ।




प्रतिक्रिया