मलेसियाबाट सवा अर्बको हुन्डी : सीआईबीको फन्दामा परे धनुषाका युवक


काठमाडौँ, १ असोज । मलेसियालगायतका मुलुकबाट लुकीछिपी सवा एक अर्ब रुपैयाँभन्दा बढीको हुन्डी कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–४ बस्ने २४ वर्षीय अजयकुमार मुखिया रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले मुखियालाई भदौ ३० गते साँझ सहिदनगरबाटै नियन्त्रणमा लिएको हो । सीआईबीका अनुसार विभिन्न व्यक्तिगत र व्यावसायिक बैंक खाताहरूको दुरुपयोग गरी उनले १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार रुपैयाँ बराबरको अवैध आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुलेको छ ।

विदेशबाट आउने रकमलाई बैंकिङ प्रणालीभन्दा बाहिरबाट (हुन्डीमार्फत) नेपाल भित्र्याइएको सुराकीका आधारमा सीआईबीले सूक्ष्म अनुसन्धान थालेको थियो । शंकास्पद बैंकिङ कारोबारको विश्लेषण गर्दा मुखियाको प्रत्यक्ष संलग्नता पुष्टि भएपछि अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाल मुखियामाथि हुन्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । यसैगरी, यो विशाल अवैध सञ्जालमा जोडिएका अन्य व्यक्तिहरूको पनि खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।