काठमाडौँ । केही दिनअघि मुस्ताङ जाने क्रममा म्याग्दीको सडकको दयनीय अवस्था देखेपछि वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई ज्ञापनपत्र बुझाएका छन् ।
बिहिवार मन्त्रालयमै पुगेर धमला नेतृत्वको अभियान टिमले म्याग्दीको बेनी–जोमसोम–कोरला सडकखण्डको दीर्घकालीन स्तरोन्नति, पहिरो नियन्त्रण तथा सुरक्षित आवागमनको व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
अभियानको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा म्याग्दी हुँदै मुस्ताङ जोड्ने उक्त सडकखण्डलाई व्यवस्थित र सुरक्षित बनाउन तत्काल आवश्यक काम अघि बढाउन माग गरिएको छ। उक्त सडकखण्ड मन्त्री पुनकै निर्वाचन क्षेत्र पनि हो । गत २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा पुन म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
अभियानले वर्षायाममा पहिरो तथा भू–क्षयका कारण सडक अवरुद्ध हुने समस्या दीर्घकालीन रूपमा समाधान गर्न जोखिमयुक्त क्षेत्रमा स्थायी पहिरो नियन्त्रणका संरचना निर्माण गर्नुपर्ने, सडक स्तरोन्नतिको कामलाई तीव्रता दिनुपर्ने तथा गुणस्तरीय रूपमा निर्धारित समयभित्र काम सम्पन्न गर्नुपर्ने माग गरेको छ।
त्यस्तै, मनसुनका समयमा सडक अवरुद्ध हुँदा तत्काल सडक खुलाउन द्रुत विपद् प्रतिक्रिया टोली (Emergency Response Team) को व्यवस्था गर्नुपर्ने माग गरिएको छ। आवश्यक डोजर, एक्स्काभेटरलगायतका उपकरण र जनशक्तिलाई २४ घण्टा तयारी अवस्थामा राख्नुपर्ने अभियानको माग छ।
ज्ञापनपत्रमा सिकारी, बेगखोला, रुप्से, तातोपानीलगायत जोखिमयुक्त क्षेत्रमा सडक संरक्षणका लागि आवश्यक संरचना निर्माण तथा नाली र कल्भर्टको उचित व्यवस्थापन गर्नसमेत आग्रह गरिएको छ।
यसअघि मंगलबार मुस्ताङ जाने क्रममा म्याग्दीको सडकको दयनीय अवस्था प्रत्यक्ष देखेपछि धमलाले स्थानीयसँग अन्तरक्रिया गरेका थिए। स्थानीयले वर्षौँदेखि सडक निर्माण तथा कालोपत्रे हुन नसक्दा आफूहरूले सास्ती भोग्दै आएको गुनासो गरेपछि धमलाले सडक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
मन्त्री महावीर पुनलाई ज्ञापनपत्र बुझाएपछि धमला र मन्त्री पुनबीच रोचक संवाद भएको छ ।
ज्ञापनपत्र बुझाएपछि धमलाले मन्त्री पुनसँग आफूले उठाएको मुख्य मागलाई दोहोर्याउँदै सोधे —‘सडक पिच हुन्छ होइन?’
जवाफमा मन्त्री पुनले सडक बन्नेमा आशंका नरहेको संकेत गर्दै भने, ‘हुन्छ नि, मेन कुरा कति वर्ष लाग्छ पो भन्ने कुरा हो।’
तर धमलाले समय लम्ब्याउन नहुने भन्दै ‘होइन, छिटो यो वर्ष नै पिच गर्नुपर्छ’ भन्दै तत्काल कालोपत्रे गर्न दबाब दिए।
त्यसपछि मन्त्री पुनले अहिलेको परिस्थितिका कारण बजेट व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए। उनले सडकका लागि छुट्याइएको बजेटसमेत रसुवा भोटेकोसीमा आएको बाढी तथा विपद्मा खर्च गर्नुपर्ने अवस्था आएको बताए ।
‘सडकमा जति बजेट राख्या थियो, त्यो अहिलेको बाढीमा पैसा हाल्नुपर्यो कि परेन?’ पुनले भने, ‘पैसा त अर्को ठाउँ छैन।’
उनले विपद् व्यवस्थापनका लागि बाह्य सहयोग तथा चन्दाबाट आउने रकमले मात्रै आवश्यक पूर्वाधार निर्माण गर्न पर्याप्त नहुने तर्क गरे। उनले मन्त्रालयकै बजेट कटाएर त्यता दिनुपर्ने बताए ।
यही क्रममा पुनले आफूले सडक निर्माण तथा विकासका विषयमा धेरै काम गर्ने योजना राखेको भए पनि विपद्का कारण प्राथमिकता परिवर्तन गर्नुपर्ने अवस्था आएको प्रष्ट पारे ।
धमलाले पुनः सडक बन्ने सुनिश्चितताबारे प्रश्न गरे।
धमला : ‘सडक पिच हुन्छ नि होइन?’
मन्त्री पुन : ‘हुन्छ के… अब यो पाँच वर्षभित्रमा हाइवेमा, गाउँगाउँमा हुन्छ।’
त्यसपछि धमलाले पुनः सोधे, ‘म्याग्दी जिल्लामा हुन्छ?’
जवाफमा पुनले कुनै एक जिल्लालाई मात्र केन्द्रित गरेर नभई देशभर सडक निर्माण हुने दाबी गरे।
‘म्याग्दी जिल्लाको नभनौँ न, त्यो सानो… देशैभरको हुन्छ भन्या मैले त। म्याग्दी जिल्लाको मात्रै भन्यो भने त अरू जिल्लाकाले मार्छन् मलाई। पाँच वर्षभित्र सबै हुन्छ,’ पुनले भने।




प्रतिक्रिया