सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्दै प्रधानमन्त्री शाह: उच्चस्तरीय भेटघाट र महासभा सम्बोधनको यस्तो छ तालिका


काठमाडौँ । प्रधानमन्त्री पद सम्हालेपछिको पहिलो विदेश भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क जाने भएका छन्। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उच्चस्तरीय सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह आगामी सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने औपचारिक जानकारी दिएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघीय महासभाको ‘आम बहस’ (General Debate) लाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। न्यूयोर्क बसाइका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।

महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय छलफलहरूमा सहभागिता जनाउन परराष्ट्रमन्त्री शिशिर खनाल भने सेप्टेम्बर २० मै न्यूयोर्कतर्फ लाग्नेछन्। भ्रमणका क्रममा उनले विभिन्न मुलुकका समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय वार्ता गर्नेछन्।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिवसहित सरकारका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहनेछ।

महासभाका औपचारिक कार्यक्रमहरू सम्पन्न गरी प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौँ फर्कनेछन्।