काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारका कदमविरुद्ध चाडपर्वपछि सडक र सदन दुवैतर्फबाट संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ।
शुक्रबार ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले देश गम्भीर राजनीतिक तथा आर्थिक संकटतर्फ धकेलिएको दाबी गर्दै वामपन्थी एकता र जनआन्दोलनको आवश्यकता औँल्याएका हुन्।
कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले वर्तमान सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको आरोप लगाए। सरकारका ‘गलत कदम’ का विरुद्ध संसदभित्र प्रतिपक्षी दलहरूलाई एकताबद्ध गर्ने र सडकमा सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनहरूलाई समेटेर संयुक्त मोर्चा बनाउने उनको भनाइ थियो।
भदौ २४ गतेको घटनाले कम्युनिस्ट शक्तिहरूबीच ढिला नगरी नयाँ शिराबाट एकता प्रक्रिया अघि बढाउन नेतृत्वलाई दबाब र ऊर्जा मिलेको उनले उल्लेख गरे। देशमा उत्पन्न राजनीतिक चुनौती, वैदेशिक हस्तक्षेप र प्रतिक्रान्तिको खतरा सामना गर्न कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको व्यापक ध्रुवीकरण अनिवार्य भएकोमा उनले जोड दिए।
पुराना दल र नेताहरूले विगत ३५ वर्षमा केही गरेनन् भनी फैलाइएको भाष्यको खण्डन गर्दै प्रचण्डले आफ्नै नेतृत्वमा प्रमुख विकास तथा पूर्वाधारका कामहरू सम्पन्न भएको दाबी गरे। नेपालको आर्थिक विकास र औद्योगिकीकरणको मुख्य जग नै कृषि रहेको उल्लेख गर्दै उनले यसको आधुनिकीकरण र व्यवसायीकरण अनिवार्य भएको बताए।
पार्टीका सहसंयोजक माधवकुमार नेपालले वैदेशिक चलखेलका कारण देशको राष्ट्रियता र सार्वभौमसत्ता जोखिममा परेको टिप्पणी गरे। दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको नेपाललाई विदेशीको खेलमैदान बन्न नदिइने स्पष्ट पार्दै उनले वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
देशको कायापलट गर्न कृषि अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने भन्दै उनले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमा विशेष जोड दिएका थिए।




प्रतिक्रिया