पूर्णबहादुर फेरि देउवाकै कित्तामा: कांग्रेस दुई भागमा बाँडिने खतरा


काठमाडौँ । नेपाली कांग्रेसभित्र देउवा समूह र संस्थापन पक्षबीचको राजनीतिक तानातानका बीच पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन बहिष्कारको घोषणा गरेका छन्। गगन थापा नेतृत्वको १५ औँ महाधिवेशनमा कुनै हालतमा सहभागी नहुने स्पष्ट पार्दै खड्काले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला महाधिवेशनमा जानु ‘अनैतिक’ हुने तर्क गरेका छन्।

केही समयअघि देउवा पक्षले गरेका समानान्तर गतिविधिबाट टाढा रहँदै ८ बुँदे माग अघि सारेका खड्का संस्थापन पक्षसँग नजिकिएको आँकलन गरिएको थियो। उनका नजिकका दर्जनौँ नेताहरू सानेपास्थित पार्टी कार्यालय पुगेर महाधिवेशनमा भाग लिने निर्णय गरे पनि खड्का स्वयं भने रोकिँदै फेरि देउवा पक्षतिरै ढल्किएको संकेत दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले नेपाली कांग्रेस इतिहासकै विषम परिस्थितिमा र विभाजनको डिलमा पुगेको दाबी गरेका छन्। “अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ ! तैपनि हामी सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ,” खड्काले लेखेका छन्। मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल विभाजित भएमा कांग्रेसलाई मात्र नभई समग्र लोकतन्त्रमै भयानक बहुआयामिक दुष्प्रभाव पर्ने चिन्ता उनले व्यक्त गरेका छन्।

महाधिवेशन प्रक्रियामा सहभागी नहुनुको कारण खुलाउँदै खड्काले गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको सन्दर्भ स्मरण गराएका छन्। अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गगन थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु अनैतिक ठानेर आफू उम्मेदवार नबनेको दाबी गर्दै उनले आज महाधिवेशनको सन्दर्भमा पनि ठ्याक्कै त्यही परिस्थिति दोहोरिएको बताएका छन्।

मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म महाधिवेशन रोक्न माग गर्दै दिइएको रिटमा अदालतले रोक लगाउन आवश्यक नदेखेपछि कांग्रेसको नाममा अलग-अलग दुईवटा महाधिवेशन हुने परिस्थिति सिर्जना भएको उनको भनाइ छ।

विद्यमान राजनीतिक गम्भीरतालाई ध्यानमा राख्दै खड्काले सर्वोच्च अदालतसँग विचाराधीन मुद्दाको यथाशीघ्र अन्तिम किनारा लगाइदिन आग्रह गरेका छन्।