ग्यासको अभाव समाधान गर्न सरकारले दीर्घकालीन योजना अघि बढाएको छ : उद्योगमन्त्री


काठमाडौँ । उद्योगमन्त्री दीपककुमार साहले खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकारले दीर्घकालीन योजना अघि बढाएको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री साहले ग्यास आपूर्तिको समस्या समाधानका लागि मन्त्रालयभित्र आन्तरिक समिति गठन गरिएको र दीर्घकालीन पूर्वाधार नीति बनाउन राष्ट्रिय योजना आयोगसँग समन्वय भइरहेको जानकारी दिए।

उनका अनुसार ग्यास अभावको कारण पहिचान गर्न मन्त्रालयले ‘फिसबोन डाइग्राम’मार्फत अध्ययन गरेको छ। अध्ययनले आपूर्ति, कानुनी व्यवस्था, वितरण प्रणाली, जनशक्ति, सामाजिक तथा अन्तर्राष्ट्रिय पक्षलगायत विभिन्न कारणले समस्या सिर्जना भएको देखाएको उनले बताए।

मन्त्री साहले आयातमा निर्भरता, अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, भण्डारण तथा रिफिलिङ क्षमताको समस्या, डिलर तथा सेवा केन्द्रको असमान वितरण र खाली सिलिण्डर रिफिलिङमा हुने ढिलाइले ग्यास आपूर्तिमा असन्तुलन ल्याएको बताए। कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव र अन्तरनिकाय समन्वयको कमीले समेत समस्या थपिएको उनको भनाइ छ।

तत्कालीन समस्या समाधानका लागि सरकारले विशेष कार्ययोजना बनाएर काम गरिरहेको जानकारी दिँदै मन्त्री साहले अवरुद्ध कृष्णभीर सडकखण्डको मर्मत गरी सञ्चालनमा ल्याइएको बताए।

बजारको मागअनुसार आपूर्ति बढाउन हाल दैनिक आउने १०० बुलेट ग्यासलाई बढाएर १६० बुलेट पुर्‍याउने गरी सरकारले कूटनीतिक पहल अघि बढाएको उनले जानकारी दिए।