काठमाडौ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्।
जारी एमाले केन्द्रीय कमिटी बैठकलाई भारतबाट पत्र पठाउँदै पोखरेलले पार्टीको वर्तमान अवस्थाबाट अघि बढ्न नेतृत्व पुनर्गठन आवश्यक रहेको बताएका हुन्। पोखरेल श्रीमतीको उपचारका लागि भारतमा रहेका छन्।
पत्रमा उनले आम पार्टी पङ्क्ति र जनतामा आशा जगाउन पार्टीको पुनर्गठन आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीको सम्मानजनक रूपमा मार्ग प्रशस्त हुनुपर्ने बताएका छन्। पोखरेलले लेखेका छन्, ‘…आजको जटिलतर बन्दै गएको अवस्थामा पुनर्गठन नगरी आम पार्टी पङ्क्ति र आम जनतामा समेत आशा जगाउन सकिन्न, अगाडि बढ्न सकिन्न ! यसका लागि देशभरिका आम कार्यकर्ताहरूको चाहना र माग बमोजिम तपाईँको सम्मानजनक मार्ग प्रशस्त विशेष महत्त्वपूर्ण हुनेछ ।’
उनले अध्यक्ष ओलीलाई सम्मानसाथ बिदाइ गर्दै विधिसम्मत रूपमा नयाँ नेतृत्वमा जानेबाहेक पार्टीमा आशा जगाउने अर्को विकल्प नभएको बताएका छन्। पोखरेलको यस्तो धारणा सार्वजनिक भएसँगै एमालेभित्र नेतृत्व परिवर्तनको बहस थप पेचिलो बनेको छ।




प्रतिक्रिया