भोटेकोशी बाढी प्रभावितलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने


काठमाडौँ, ५ असोज । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी प्रभावितलाई सुरक्षित स्थानमा एकीकृत बस्ती विकास गरी पुनःस्थापना गर्ने योजना अघि बढाइने बताएका छन् ।

सूचना तथा सञ्चार मन्त्रालयमा आज उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालसँग भएको भेटमा मन्त्री तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत, उद्धार, सुरक्षा व्यवस्था र पुनःस्थापनाका विषयमा छलफल गरेका हुन् ।

मन्त्री तिमिल्सिनाले जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्न नहुने भएकाले सुरक्षित स्थान पहिचान गरी एकीकृत बस्ती विकासको अवधारणाअनुसार पुनःस्थापनाको तयारी गर्नुपर्ने बताए । यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी योजना अघि बढाइने उनले जानकारी दिए ।

भविष्यमा बाढी तथा अन्य विपद्बाट प्रभावित नहुने गरी सुरक्षित स्थानमा बस्ती विकासका लागि आवश्यक तयारी भइरहेको उनले बताए । पुनःस्थापनाका लागि गिट्टी, बालुवा, काठलगायत स्थानीय स्रोतसाधनको व्यवस्थापन स्थानीय तहबाट गर्न सकिने तथा सङ्घीय सरकारले आवश्यक नीतिगत, आर्थिक र प्राविधिक सहयोग गर्ने उनको भनाइ छ ।

उत्तरगया गाउँपालिका अध्यक्ष अर्यालले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम अझ व्यवस्थित बनाउनुपर्ने, प्रभावितको तथ्याङ्क तथा विवरणमा एकरूपता कायम गर्नुपर्ने र अस्थायी आवास तथा दीर्घकालीन पुनःस्थापनाका लागि छुट्टाछुट्टै समिति बनाएर काम गर्नुपर्ने विषयमा मन्त्री तिमिल्सिनाको ध्यानाकर्षण गराए ।

विभिन्न गैरसरकारी तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाबाट भइरहेको सहयोगलाई प्रभावितको आवश्यकताका आधारमा व्यवस्थित गर्नुपर्नेमा पनि अध्यक्ष अर्यालले जोड दिए ।

छलफलमा प्रभावितको वास्तविक आवश्यकता पहिचान गरी उपलब्ध स्रोतसाधन उचित रूपमा वितरण गर्ने तथा बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको लालनपालन, पठनपाठन र भविष्यको व्यवस्थापनमा विशेष ध्यान दिने विषयमा पनि कुराकानी भएको थियो ।