पाल्पा, ७ असोज । माथागढी गाउँपालिका ओलेसका किसानले उब्जाउ गर्नै गरेको स्थानीय दानाको कालो भट्ट कुनै समय खाद्यान्न मात्रै थिएन, घरखर्च चलाउने बलियो आधार थियो ।
मकैसँगै बारीमा भट्ट लगाउने, उत्पादन बेच्ने र त्यसबाट आएको आम्दानीले वर्ष दिनका लागि चामलको जोहो गर्ने यहाँको पुरानो चलन हो । यस क्षेत्रका ६० भन्दा बढी घरपरिवारले बर्सेनि बीउ जोगाउथे, अर्को वर्ष त्यही बीउ बारीमा लगाउथे । तर अहिले पुस्तौँदेखि गाउँमै जोगिँदै आएको स्थानीय जातको कालो भट्टको बीउ पाउनै मुस्किल परेको छ ।
बाजेका पालादेखि गाउँमै सुरक्षित राखिँदै आएको भट्टको बीउ अहिले पाउनै मुस्किल पर्ने गरेको स्थानीय किसान वीरबहादुर सारुले बताए । “मकैसँगै भट्ट लगाउने चलन हाम्रा बाजेका पालादेखि चलिआएको थियो,” सारु भन्छन्, “तर एक्कासि किराको प्रकोप भयो । बोटमा दाना नै लागेन । स्थानीय पहिचान बनेको सानो दानाको कालो भट्टको बीउ गाउँबाटै हरायो ।”
उनका अनुसार चार वर्षयता किसानले बजारबाट ल्याइने उन्नत जातको बीउमा निर्भर हुन थालेका छन् । “स्थानीय जातको नाममा यही मात्र बाँकी थियो, अब त्यो पनि हरायो,” उनी भन्छन् ।
गोठादीका पुराना कृषक प्रतीक थापाको सम्झनामा खेतका आलीमा लगाइने मास अझै ताजा छ । खेतको आलीमा मास लगाउने, उत्पादन बिक्री गर्ने र त्यही आम्दानीबाट जाडोका लागि लत्ताकपडा किन्ने गरेको उनी सम्झन्छन् ।
करिब पाँच वर्षअघि मासको दानामा किराको प्रकोप देखियो । विस्तारै बाली हराउँदै गयो । यसपटक त बीउ नै नभएपछि मास लगाउन नपाएको उनी बताउँछन् ।
“किराले अभियानकै रूपमा आक्रमण गरेजस्तो भयो,” थापा भन्छन्, “किरा नियन्त्रणका लागि विभिन्न उपाय अपनायौँ, तर सफल भएनौँ ।” उनका अनुसार मासको बाली जोगिएको भए गाउँमा यसपटक लाखैँ रुपैयाँ भित्रिन सक्थ्यो । “किरा नलागेको भए यस पटक गाउँमा दुई÷चार लाख रुपैयाँ भित्रिन्थ्यो होला,” उनी भन्छन्, “किरा किन लाग्यो भन्ने कुरा पत्ता लगाउनै सकिएन ।”
निस्दीको मित्यालकी माया सुनारीको अनुभव पनि उस्तै छ । मकै लगाउने समयमा मकैसँगै सिमी लगाउने र पछि आम्दानीको स्रोत बनाउने गरेकी सुनारीलाई गत वर्ष सिमीमा लागेको किराले ठूलो क्षति पु¥यायो ।
किराले सिमीका बोट नै सखाप पारेपछि यस वर्षका लागि बीउसमेत जोगिएन । “मेरो मात्र होइन, गाउँका सबैका बारीमा सिमीमा किराले नोक्सान ग¥यो,” उनी भन्छन्, “बाली जोगाउन सकिएन, बीउ पनि रहेन । अहिले रैथाने सिमीको बीउ नै गाउँमा छैन ।”
कुनै समय गाउँका अधिकांश किसानका बारीमा देखिने बोडी, सिमी, भट्ट, मास र झिल्ङ्गीजस्ता विउ अहिले हराउँदै गएको छ । बालीसँगै बीउ हराएपछि किसान बाहिरबाट आउने बीउमा निर्भर हुन थालेका छन् । कृषि ज्ञान केन्द्रकी प्रमुख अमिता पाण्डेका अनुसार पछिल्ला वर्षमा बढ्दो तापक्रमसँगै दलहन बालीमा किराको प्रकोप बढिरहेको छ ।
“जलवायु परिवर्तनका कारण रैथाने बालीमा असर परेको छ,” पाण्डे भन्छन्, “रैथाने बालीमा रोग तथा किराको प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बदलिँदो वातावरणमा थप जोखिम देखिएको छ ।”




प्रतिक्रिया