इजिप्टमा पत्रकारमाथि सरकारी धरपकड


काठमाडौँ । इजिप्टको स्वतन्त्र सञ्चारमाध्यम ‘मादा मसर’ की प्रमुख पत्रकार लिना अत्तालाहले समाचार प्रकाशनसम्बन्धी मुद्दामा पुनः जेल सजायको सामना गर्नुपर्ने भएको छ । प्रेस स्वतन्त्रतामाथि सरकारी प्रतिबन्ध र पत्रकारमाथिको धरपकड बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् ।

बिनाअनुमति समाचार वेबसाइट सञ्चालन गरेको र गलत समाचार प्रकाशित गरेको आरोपमा सन् २०२४ मा अत्तालाहलाई अनुपस्थितिमै एक वर्षको जेल सजाय सुनाइएको थियो । बुधबार फौजदारी अदालतमा उपस्थित हुन लागेकी उनले गत महिना मात्रै उक्त फैसलाबारे जानकारी पाएकी थिइन् ।

यसअघि अर्को मुद्दामा उनलाई ३० लाख इजिप्टियन पाउन्ड जरिवाना गरिएको थियो । अदालतले मादा मसर बन्द गर्नसमेत आदेश दिएको थियो ।

संयुक्त राष्ट्रसङ्घले अत्तालाहमाथिको अभियोजनले निष्पक्ष सुनुवाइ र कानुनी प्रक्रियाको सुनिश्चिततामाथि प्रश्न उठाएको जनाएको छ । इजिप्टमा स्वतन्त्र पत्रकारमाथि मुद्दा चलाउने र उत्पीडन गर्ने क्रम बढेको भन्दै राष्ट्रसङ्घले यस्तो दमन रोक्न आग्रह गरेको छ ।

अत्तालाहका अनुसार मादा मसरले विगत आठ वर्षदेखि सञ्चालन अनुमतिका लागि प्रयास गर्दै आए पनि सरकारले कुनै जवाफ दिएको छैन । उनले सञ्चारमाध्यमको नियमनको विरोध नभई अनुमतिपत्रलाई सञ्चारमाध्यम नियन्त्रण गर्ने र निश्चित सञ्चारसंस्थालाई बहिष्करण गर्ने माध्यम बनाइएकोमा आपत्ति जनाएकी छन् ।

यसैबीच, एम्नेस्टी इन्टरनेसनलसहितका अधिकारवादी संस्थाहरूले तथ्य जाँच गर्ने संस्था ‘मत्सदा’ का सबै पत्रकार पक्राउ परेपछि सञ्चारमाध्यममाथिको दमन थप बढेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार छ जना पत्रकार पूर्वपरीक्षण हिरासतमा छन् । उनीहरूलाई यातना दिएर दबाबमा झुटा स्वीकारोक्ति गराइएको आरोपसमेत लागेको छ ।

अमेरिकी सांसद, युरोपेली सङ्घ (इयु) तथा १३५ अधिकारवादी र सञ्चार सङ्गठनले इजिप्टमा बढ्दो दमनको आलोचना गर्दै मादा मसरमाथिको प्रतिबन्ध हटाउन र प्रेस स्वतन्त्रताको अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

पत्रकार संरक्षण समितिकी क्षेत्रीय निर्देशक सारा कुदाहले यस विषयलाई इजिप्टसँगको राजनीतिक वार्तामा उठाउन युरोपेली सङ्घलाई आग्रह गरेकी छन् ।