आफ्नै दीपको उज्यालो 

लेखक : गोबिन्द राज ओझा (राजन )

शीतैझैँ स्वच्छ मनले, मधुर वचनले, सत्यको बीज रोपी,

आफ्नै बाटो पहिल्याई, कठिन घडीमा, साहसै साथ बोकी।

अरूका घाउ मल्हम लगाई, करुण हृदयले, प्रेमको फूल छरी,

आफ्नै घाउ लुकाएर, हिँड्छौ भने, के अर्थ जीवन भरी?

बादलझैँ माथि उड्छौ, परहिततिर, स्वप्नका पखेटा खोली,

आकाशै छुन्छु भन्छौ, धरणीमाथि, कर्मको दीप बोकी।

तर आफ्नै अन्तरमा, अँध्यारो छ भने, कसरी सूर्य बन्छौ?

आफ्नै मन जित्न नसकी, अरू जगत्‌लाई, कुन दिशा देखाउँछौ?

शब्दैशब्दका महलले, सजिएको छ, तिम्रो कलमको बाटो,

भावैभावका नदीले, भिजेको छ, तिम्रो सिर्जनाको माटो।

तर जीवनको पुस्तक, खोल त एकपल्ट, अक्षर आफैँ पढेर,

कति सत्य छ लेखिएको, कति केवल, कल्पनाले भरेर?

गीतैगीतले जगलाई, निद्राबाट, ब्युँझाउने चाह राख्छौ,

आफ्नै चेतनको झ्यालमा, किन अझै, मौनताको पर्दा राख्छौ?

वीणाझैँ तिम्रो बोली, अरूका मनमा, मधुर स्पन्दन ल्याउँछ,

आफ्नै हृदयको तारमा, किन कहिल्यै, सत्यस्वर जाग्दैन?

चित्रैचित्रमा रङ्गले, जीवनका, हजारौँ कथा कोर्छौ,

अरूको आँखामा सपनाको, उज्यालो, सुनौलो रङ्ग भर्छौ।

आफ्नै जीवनको चित्रमा, हे कलाकार, कुन रङ्ग हराएको?

हासो छ कि केवल, ओठमाथि, दुःखलाई पोतिएको?

पर्वतलाई सोधेर, स्थिर रहन, सिकाउँछौ आँधीसँगै,

सागरलाई सम्झाएर, गहिराइको, अर्थ सुनाउँछौ हाँसी।

तर आफ्नै मनको आँधी, उठ्दा जब, तिमी कहाँ पुग्छौ?

आफ्नै भावको सागर, छचल्किँदा, कुन किनार समाउँछौ?

इतिहासले सोध्नेछ, कर्म तिम्रो, शब्दभन्दा ठूलो थियो?

समयले नाप्नेछ, सत्य तिम्रो, ओठभन्दा गहिरो थियो?

आगामी पुस्ताले, तिम्रा पदचाप, खोज्दा धुलो मात्र भेटे,

कसरी तिम्रा सपना, उनीहरूका, यात्राको दीप बन्ने?

त्यसैले आजैदेखि, आफ्नै मनको, द्वार खोल्दै जाऊ,

अरूलाई बाटो देखाउनु अघि, आफू हिँड्दै जाऊ।

क्रान्ति केवल नारामा होइन, जीवनमा, कर्म बनी आओस्,

तिम्रो प्रत्येक श्वासभित्र, सत्यको, उज्यालो बलिरहोस्।

कवि बन्नु भनेको, केवल शब्दको, फूल सजाउनु होइन,

मानव बन्नु भनेको, आफ्नै अहंको, शिर झुकाउनु हो नि।

लेखनीभन्दा माथि, आचरण राख, दीपजस्तै आफैँ बल,

आफ्नै जीवन कविता बनोस्—

त्यसपछि मात्र तिम्रो शब्दले युग बोलोस्।