‘खाओ, पियो, मोज गरो’ भारतीय संस्कृति होइन : नरेन्द्र मोदी


नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा करिब ५० करोड मानिसलाई गरिबीबाट मुक्त गर्न सफल भएको र ‘माओवादी उग्रवाद’को खतरा अन्त्य भएको दाबी गर्दै अब लागुऔषध दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

बुधबार मन्त्रीपरिषद्का सदस्य तथा सरकारी सचिवहरूसँगको बैठकमा उनले लागुऔषध दुर्व्यसन अन्त्यलाई सरकारको अर्को प्रमुख लक्ष्य बनाउन आग्रह गरेका हुन् ।

बैठकमा मोदीले नागरिकलाई बचत गर्ने बानी विकास गर्न पनि आग्रह गरेका थिए । भारतको संस्कृति ‘खाने, पिउने र मोजमस्ती गर्ने’ मात्रै नभएको उल्लेख गर्दै उनले अनावश्यक खर्चभन्दा बचतलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।

गरिबीबाट बाहिरिएका मानिसहरू अनुशासनहीन खर्चका कारण पुनः गरिबीमा धकेलिन सक्ने जोखिम रहेकोमा उनको चिन्ता थियो । त्यसैले आर्थिक अनुशासन र बचतको संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

मोदीले सन् २०११ देखि २०२३ सम्म भारतले विश्वकै तीव्र गतिमध्ये एक दरमा गरिबी घटाउन सफल भएको उल्लेख गर्दै यसलाई राष्ट्रिय उत्सवका रूपमा लिनुपर्ने बताए । यस उपलब्धिमा विभिन्न सरकार, सरकारी अधिकारी, उद्योग क्षेत्र र सर्वसाधारणको सामूहिक योगदान रहेको उनको भनाइ थियो । एजेन्सी