काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई प्रहरीले महाराजगन्जस्थित निवासबाट राति नै टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याएर राखेकाे छ।
प्रहरीले राणालाई पक्राउ गरेको नभई सम्भावित सुरक्षा जोखिमका कारण सुरक्षाका लागि कार्यालयमा ल्याइएको बताएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार राणालाई भौतिक क्षति पुर्याउने गतिविधि हुन सक्ने सूचना पाएपछि राति नै प्रहरी टोली उनको निवास पुगेको थियो। ‘हामीलाई राति नै उहाँको जीवनमाथि नै गम्भीर खतरा आएको सूचनापछि सुरक्षा दिने क्रममा हामीले साथमै लिएर आएका हौँ ,’ उनले भने ।
एसएसपी खड्काका अनुसार राति करिब ३ बजे उनलाई प्रहरी कार्यालय ल्याइएको हो। सुरक्षा चुनौती कहाँबाट थियो भन्नेबारे भने उनले खुलाउन चाहेनन्।
‘उहाँजत्तिको प्रोटोकल भएको व्यक्तिलाई हामीले यत्तिकै पक्राउ गर्ने भन्ने हुँदैन । अहिले पनि सुरक्षाका लागि हामीसँगै हुनुहुन्छ । उहाँ सुरक्षित हुने सुनिश्चिततापछि घरमा पठाउने वा अन्यत्र सुरक्षित राख्ने भन्ने कुरा हुन्छ । अहिलेसम्म अर्को कुरा खबर आएको छैन’, खड्काको भनाइ छ ।
राणा २०७५ पुसमा प्रधानन्यायाधीश नियुक्त भएका थिए। उनीविरुद्ध २०७८ फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए। महाअभियोग सिफारिस समितिले छानबिन गरी उनीमाथि महाअभियोग लगाउन पर्याप्त आधार रहेको निष्कर्ष निकाले पनि संसदबाट अन्तिम निर्णय भएको थिएन।




प्रतिक्रिया