हिम्लुङमा हिमपहिरो : हेलिकप्टरबाट खोजी, उद्धार टोली घटनास्थलमा


पोखरा । मनाङको नार–फू क्षेत्रमा पर्ने हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरूको खोजी सोमबार बिहानैदेखि तीव्र पारिएको छ। हेलिकप्टरबाट हवाई खोजी गर्नुका साथै उद्धार टोली घटनास्थलमै पुगेर बेपत्ताको खोजी गरिरहेको छ।

प्रशासनका अनुसार हिमपहिरोमा परेर करिब १० जना सम्पर्कविहीन भएको भनिए पनि वास्तविक संख्या अझै यकिन हुन सकेको छैन। घटनापछि विभिन्न स्रोतबाट फरक–फरक विवरण आएपछि बेपत्ता हुनेको संख्या पुष्टि गर्न कठिन भएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए।

आइतबार घटनास्थलमा खटिएको उद्धार टोलीले दुई जनाको शव फेला पारेको थियो। ती शव चामे ल्याइसकिएको र सोमबार हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको पौडेलले जानकारी दिए।

उनका अनुसार आइतबार तीन जनाको उद्धार टोली घटनास्थलमा पठाइएको थियो। सोमबार बिहान थप तीन जना उद्धारकर्मी हेलिकप्टरमार्फत घटनास्थल पुगेका छन्। खोजी कार्यमा अनुभवी गाइडहरूलाई समेत परिचालन गरिएको छ।

हिमपहिरोपछि सम्पर्कविहीन भनिएका ११ जना भने हिँडेरै फू गाउँ आइपुगेको पौडेलले बताए। यससँगै वास्तविक रूपमा कति जना बेपत्ता छन् भन्नेबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।

सोमबार मनाङको मौसम खुलेको र आकाश सफा रहेकाले हवाई खोजी तथा उद्धारमा सहज हुने प्रशासनको अपेक्षा छ। खोजी तथा उद्धारका लागि प्रभु एयरको हेलिकप्टर प्रयोग गरिएको छ।

नापाभूमि गाउँपालिका–५ मा पर्ने हिम्लुङ हिमालमा आइतबार हिमपहिरो गएको हो। नार–फू क्षेत्रमा रहेको हिम्लुङ हिमाल समुद्री सतहबाट ७ हजार १२६ मिटर उचाइमा रहेको छ।