कांग्रेसको १५औँ महाधिवेशन: धादिङ-२ ‘क’ बाट इन्जिनियर इटनीको प्रदेश प्रतिनिधिमा उम्मेदवारी दर्ता


धादिङ । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तथा प्रादेशिक तहमा नेतृत्व चयनको सरगर्मी बढेको छ। यसै क्रममा धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ ‘क’ बाट प्रदेश प्रतिनिधि (पेशागत विषयविज्ञ) पदमा इन्जिनियर मोतीराम इटनीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

पार्टीको आन्तरिक निर्वाचनमा उम्मेदवारी दर्ता गराएसँगै इन्जिनियर इटनीले क्षेत्रीय प्रतिनिधि, पालिका तथा वडा सभापतिहरू र अग्रज नेताहरूसँग मत र सहयोगका लागि औपचारिक अपिल गरेका छन्।

आफ्नो पेसागत ज्ञान, अनुभव र क्षमतालाई पार्टी संगठनको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले नेपाली कांग्रेसलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउन इमानदार भएर लाग्ने बताएका छन्। पार्टीको नीति, सिद्धान्त र मूल्यमान्यतालाई आत्मसात् गर्दै अघि बढ्ने उनको भनाइ छ।

धादिङ क्षेत्र नं. २ ‘क’ मा पेसाकर्मी र युवा वृत्तमा राम्रो प्रभाव रहेका इन्जिनियर इटनीले आफूलाई अमूल्य मत, विश्वास र सद्भाव दिएर विजयी गराउन सम्पूर्ण कांग्रेसजनसँग हार्दिक अपेक्षा व्यक्त गरेका छन्।