धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र १/१ को सभापति पदमा सुन्दर हमालले उम्मेदवारी दिने घोषणा गरेका छन्।
२०६२/६३ को जनआन्दोलनदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका हमालले आफ्नो राजनीतिक यात्रा तरुण दलबाट अघि बढाएका हुन्। उनी धुनिबेसी नगर तरुण दलको अध्यक्ष हुँदै हाल प्रदेश १/१ को नेतृत्वमा समेत सक्रिय रहेको बताउँछन्।
हमालले अब पार्टीको मूल संगठनलाई पनि सक्रिय र गतिशील ढंगबाट अघि बढाउने उद्देश्यले प्रदेश सभापति पदमा उम्मेदवारी दिएको बताएका छन्। पछिल्लो समय कांग्रेसको नेतृत्व र संगठनमा युवा पुस्ताको सहभागिता बढिरहेको उल्लेख गर्दै उनले आफ्नो उम्मेदवारी युवाहरूको चाहना र पुस्तान्तरणको बहससँग जोडिएको दाबी गरेका छन्।
“राजनीतिमा लामो समयदेखि सक्रिय छु। भूगोल र यहाँका कार्यकर्ताको सुख–दुःखलाई नजिकबाट बुझेको छु। अब पार्टी संगठनलाई अझ सक्रिय बनाउँदै परिवर्तनको दिशामा अघि बढाउने उद्देश्यले उम्मेदवारी दिएको हुँ,” हमालले भने।
हमालले धादिङ–१ को भूगोल, स्थानीय समस्या र कार्यकर्ताको अवस्थालाई आफूले नजिकबाट बुझेको उल्लेख गरेका छन्। सामाजिक तथा सार्वजनिक सरोकारका विषयमा पनि आफू निरन्तर सक्रिय रहेको उनको भनाइ छ। विभिन्न समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्न आफूले सञ्चारमाध्यम तथा रिपोर्टर्स क्लबमार्फत समेत पहल गर्दै आएको उनले बताए।
उनले आफ्नो उम्मेदवारीको मुख्य आधार “Change, Change, Change — परिवर्तन” रहेको बताएका छन्। संगठनलाई समयअनुकूल बनाउँदै नयाँ पुस्तालाई पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा थप सहभागी गराउने आफ्नो प्राथमिकता रहेको हमालको भनाइ छ।
“पार्टीलाई चलायमान बनाउन नयाँ सोच, नयाँ ऊर्जा र पुस्ताबीचको समन्वय आवश्यक छ। मेरो उम्मेदवारी त्यसैको निरन्तरता हो,” उनले बताए।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा वडा तथा पालिका तहका अधिवेशनको प्रक्रिया अघि बढिसकेको छ भने प्रदेशसभा क्षेत्रीय अधिवेशन पनि निर्धारित प्रक्रियाअनुसार अघि बढिरहेको छ। (नेपाली कांग्रेस)
हमालले प्रदेश १/१ का कांग्रेस प्रतिनिधि तथा कार्यकर्तामाझ आफ्नो उम्मेदवारीबारे जानकारी गराउँदै संगठनलाई सक्रिय, व्यवस्थित र परिवर्तनमुखी बनाउने आफ्नो प्रतिबद्धता रहेको बताएका छन्।




प्रतिक्रिया