काठमाडौँ । अविरल वर्षासँगै गएको बाढी र पहिरोका कारण ठप्प बनेका मुलुकका प्रमुख राजमार्गहरू पहिरो पन्छाएसँगै पुनः सञ्चालनमा आउन थालेका छन्। काठमाडौँ उपत्यकालाई बाँकी भू-भागसँग जोड्ने मुख्य सडक सञ्जालहरू खुलाउने काम तीव्र पारिएसँगै अवरुद्ध यातायात आवागमन सहज बन्दै गएको छ।
सडक विभागले दिएको अध्यावधिक जानकारीअनुसार असोज १३ गतेसम्ममा काठमाडौँ उपत्यका प्रवेश गर्ने तथा बाहिरिने अधिकांश राजमार्गहरू सञ्चालनमा आइसकेका छन्।
विभागका अनुसार अहिले बीपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, अरनिको राजमार्ग तथा बल्खु-कुलेखानी-भीमफेदी-हेटौँडा सडक खण्डमा सवारी साधनहरू चलिरहेका छन्।
पहिरोका कारण बढी क्षति पुगेका केही संवेदनशील स्थानहरूमा हाललाई एकतर्फी मात्रै सवारी साधन छाडिएको भए पनि अधिकांश सडक खण्डमा दुईतर्फी नै यातायात सञ्चालनमा ल्याइएको विभागले जनाएको छ। पहिरो पन्छाउने कार्य निरन्तर जारी रहेकाले बाँकी अवरोधहरू पनि क्रमशः हटाउँदै लैजाने तयारी छ।




प्रतिक्रिया